काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विषयमा सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै संसद बैठक अवरुद्ध गरेको छ।
प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै एमालेका सांसदहरुले आसनबाट उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका थिए।
प्रमुख सचेतक गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथमा लगाएको जलहरी सुन होइन पित्तल हो भनी सत्तारुढ दलका सांसद लेखनाथ दाहालले आरोप लगाएकाले त्यसको जवाफ नआउँदासम्म सदन अघि बढ्न नदिने बताए।
सभामुख घिमिरेले आसनग्रहण गर्न पटक-पटक आग्रह गर्दै बैठक संसदीय प्रक्रियाअनुसार अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए।
सभामुखको आग्रह गरे पनि एमाले सांसदहरुले रोष्टम घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए। करिब पाँच मिनेटको नाराबाजीपछि पनि सभामुखको आग्रह सुनुवाइ नभएपछि सभामुखले २० मिनेटका लागि बैठक स्थगित गरेका छन्।
हेर्नुहोस् देशसञ्चारकर्मी बर्षा शाहले कैद गरेका तस्बिरहरू: