तलब नपाएको भन्दै स्वास्थ्यकर्मी धर्नामा

सिमकोट – कालिकोटको रास्कोट नगरपालिकाका स्वास्थ्यकर्मीहरुले धर्ना सुरु गरेका छन्। १५ जना स्थायी स्वास्थ्यकर्मीले ११ महिनाको तलब नपाएपछि धर्ना सुरु गरेका हुन्।

वर्तमान सरकारले दरबन्दी नभएको भन्दै उनीहरुलाई ११ महिनासम्म तलब दिन सकेको छैन। दरबन्दीभन्दा बढी भएकाले तलब खुवाउन नसकेको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए।

उनले संघको निश्चित दरबन्दी र बजेट आउने भएका कारण दरबन्दी बिनै राख्दा तलब खुवाउन नसकिने भएको हुँदा समस्या आएको बताए। समस्या समाधानका लागि दरबन्दी मिलानको पहल भइरहेको प्रमुख शाहीले बताए।

समायोजन संशोधन र समायोजन मिलान भएका स्वास्थ्यकर्मीहरुको ११ महिनादेखिको तलब भत्ताको व्यवस्था गरिनुपर्ने, आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुमा दरबन्दी सिर्जना गरिनुपर्ने र आगामी आर्थिक वर्ष २०८०/८१ का लागि तलब भत्ताको अग्रिम सुनिश्चतता गरिनुपर्ने स्वास्थ्यकर्मीहरुले रास्कोट नगरपालिकामा कालो ब्यानर सहित धर्ना सुरु गरेका हुन्।

स्वास्थ्यकर्मी शंकर बरालले लामो समयदेखि महिनासम्म कामगर्दै आएको तर, आफूहरु बेतलवी भएकाले कालो ब्यानरसहित धर्नामा बसेको बताए।

जेठ १२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्