शरणार्थी प्रकरणलाई विषयान्तर गर्न एमालेले संसद अवरुद्ध गर्‍योः रामहरी खतिवडा

फाइल फोटो।

काठमाडौँ  – नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले सभामुखले प्रतिनिधिसभा बैठकमा मन्त्रीलाई जवाफ दिन रुलिङ गरे संसद् बैठक चल्ने बताएका छन्।

एमालेले शुक्रबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै सांसद  खतिवडाले एमालेको संसद् नचलाउने नियत देखिएको आरोप लगाए।

उनले भुटानी शरणार्थी मुद्दालाई विषयान्तर गर्न अन्य विषयलाई संसदमा ल्याउनु जरुरी नभएको बताए।

उनले भने, ‘सभामुखले शुरुमै रुलिङ गरिदिएर कुनै मन्त्रीलाई यो भएको के हो यस्तो कुराहरु आयो यसको जवाफ दिन म अनुरोध गर्छु भनेको भए सदन शुरुमै चल्थ्यो। सदन नचलाउने नियत देखियो कसको हो थाहा छैन? किन नियत देखियो थाहा छैन। भुटानी शरणार्थी मुद्दालाई डाइभर्ट गर्न फेरि अन्य इस्युहरुलाई ल्याउनुपर्ने जरुरी छैन।’

मा‌ओवादी केन्द्रका सांसदले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा पशुपतिमा सुनको भनेर पित्तलको जलहरी हालेको बताएपछि एमालेले संसद अवरुद्ध गरेको हो।

जेठ १२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्