लुम्बिनी केबलकार जेठ १५ गतेदेखि चल्ने, कामाख्या मन्दिरमा एकहप्ते पुजा सुरु

बुटवल – बुटवलको लुम्बिनी केबलकारको माथिल्लो स्टेसन रहेको पाल्पाको वसन्तपुर डाँडामा बनेको कामाख्या देवीको मन्दिरमा सप्ताहव्यापी पूजा सुरु भएको छ।
केबलकार सञ्चालन हुनुपूर्व मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पूजाआराधना सुरु भएको हो। भारतको गुहावटीमा रहको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनेको छ।
व्यवसायिक घराना आईएमई ग्रुपको लगानीमा बनेको लुम्बिनी केबलकार यही जेठ १५ गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आउँदैछ। कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए।
सप्ताहव्यापी पूजामा बुटवलसहित रुपन्देही, पाल्पा र छिमेकी जिल्लाबाट भक्तजनहरु आउने गौतमले बताए। सप्ताहव्यापी पूजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरुले धार्मिक प्रवचन दिँदैछन्।
कामाख्या देवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगे धारा,पोखरी आदि संरचनाहरु निर्माणले वसन्तपुर एउटा धार्मिक गन्तब्य बनेको लुम्बिनी केबलकारका इन्जिनियर सन्नी चौरसियाले बताए।
केबलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग सम्झौता गरी लुम्बिनी केबलकार प्रालिले प्रतिटिकट शुल्कको २ प्रतिशत रकम सेवा शुल्क वापत छुट्टाउने छ। उक्त रकम दुई पालिकाले ५०–५० प्रतिशत पाउने छन्।
बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म २ किलोमिटर ६ सय मिटर दूरीको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो।
बुटवलबाट केवलकार सञ्चालनमा आएपछि बुटवलको पर्यटन क्षेत्रमा समेत लाभ हुने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।
केबलकार आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ रहेको र पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको आईएमई ग्रुप प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए।
२५ वटा डिब्बा रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने छ। केबलकार सञ्चालनमा आएसँगै माथिल्लो स्टेशनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटेललगायतका संरचना निर्माण हुने केबलकारका आयोजना प्रमुख गोपाल साउदले बताए।