सन्दीपको मुद्दामा मंगलबार पेसीः फाइनल सुनुवाइ रोकिए सन्दीप दक्षिण अफ्रिका नजाने

फाइल

काठमाडौँ – नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्धको फाइनल सुनुवाइको अर्को पेसी मंगलबारका लागि तय भएको छ। यदि मंगलबार पनि अन्तिम चरणको बहस सुरु हुन नसकेमा सन्दीपको दक्षिण अफ्रिका भ्रमण स्थगित हुने भएको छ।

गत ७ जेठमा फणिन्द्रप्रसाद पराजुलीको इजालासले नुवाकोटको एक गा.पा.लाई जाहेरीकर्ताको जन्ममितिमा विवाद देखिएको भन्दै जन्मदर्ताको किताबको सक्कल प्रति र नारायणी अस्पताल वीरगञ्जलाई जन्मदर्ताको रेकर्ड स्पष्ट नबुझिएको भन्दै सक्कल किताब पठाउन आदेश दिएको थियो।

आदेशअनुसार उक्त डकुमेन्टहरु जिल्ला अदालत आइपुगेको जनाइएको छ। डकुमेन्टहरु आएसँगै मंगलबारका लागि फाइनल पेसी तोकिएको छ।

यदि मंगलबार पनि फाइनल चरणको सुनुवाइ सुरु नभए सन्दीप दक्षिण अफ्रिका नजाने उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले जानकारी दिए।

उनले भने, ‘मंगलबार पनि फाइनल चरणको सुनुवाइ नभए अदालति प्रक्रिया र मानसिक रुपमा कमजोर भएर हामी सन्दीपलाई दक्षिण अफ्रिका नजान सल्लाह दिन्छौँ,’ उनले भने, ‘सर्वोच्चको आदेशअनुसार चाँडो मुद्दाको किनारा लगाउनुपर्ने अवस्थामा अहिले सन्दीपलाई मुद्दा यथास्थितिमा राखेर बाहिर पठाउने अवस्था छैन। त्यसैले उनी आफै पनि मुद्दाको किनारा नलागि दक्षिण अफ्रिका जान मानसिक रुपमा समेत तयार छैनन। सम्भवत मंगलबार सनुवाइ नभए उनी दक्षिण अफ्रिका जाँदैनन।’

उनले विश्वकप छनोटको खेलका लागि सन्दीप जाने नजाने भन्ने विषय अहिले नै तय नभएको बताए। उनले भने, ‘त्यो बेलासम्ममा अदालतबाट एउटा निर्णय आउला, यदि आएन भने परिस्थितिअनुसार निर्णय गर्ने हो। अहिले नै जिम्बाब्वे यात्राको बारेमा केही भन्न सकिन्न।’

नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्वकप छनोटअघि केही अभ्यास खेलका लागि दक्षिण अफ्रिका भ्रमण गर्ने कार्यतालिका रहेको छ। दक्षिण अफ्रिकामा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल्ने पक्का हुँदा घरेलु टोलीसँगको अभ्यासका लागि समेत प्रयास गरिरहेको क्यानले जनाएको छ। त्यसैले, सन्दीपको मुद्दाले किनारा नपाएमा उनले अभ्यास खेल गुमाउने सम्भावना बलियो बनेको हो।

बलात्कार आरोपमा मुद्दा खेप्न थालेयता ४० फ्रेन्चाइज खेल गुमाइसकेका उनले नेपालबाट ८ अन्तर्राष्ट्रिय खेल गुमाएका थिए भने सिपिएलका १२ खेल तथा श्रीलंकन प्रिमियर लिगका १० तथा युएईमा हुने इन्टरनेसनल टी–२० लिगका १० खेल गुमाइसकेका छन्।

सन्दीपले एकातिर खेल गमाइरहँदा पीडित पक्षले पनि न्यायएको अनुभूति गर्न पाएको छैन।

जेठ १२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्