खेलकुद विकास बोर्डको बैंकिङ खाता रोक्का गर्दा कम्तीमा १० वटा कार्यक्रम प्रभावित

मोरङ – कोसी प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले खेलकुद विकास बोर्डको बैंकिङ खाता रोक्का गर्दा कम्तीमा १० वटा कार्यक्रम प्रभावित हुने भएको छ।
सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र बोर्डका सदस्य–सचिव हंसराज वाग्लेबीचको आपसी विवाद र बोर्डको बैकिङ खाता रोक्काका कारण प्रदेशको खेलकुद गतिविधि प्रभावित हुने भएको हो।
यससँगै विराटनगरमा जेठ १७ गतेबाट २१ गतेसम्म राष्ट्रियस्तरको सफ्ट टेनिस प्रतियोगिता हुनुपर्ने तर प्रतियोगिता आफँै अन्योलमा परेको छ। खाता रोक्कासँगै बजेट निकासा नहुँदा प्रतियोगिता नै अन्योल अवस्थामा रहेको मोरङ जिल्ला सफ्ट टेनिस संघका अध्यक्ष श्याम लामाले जानकारी दिए।
अध्यक्ष लामाले भने, ‘सामाजिक विकास मन्त्रालय र बोर्डबीचको आपसी मतभिन्नतालाई एकस्थानमा राखेर खेलकुद गराउनुपर्नेमा, त्यो हुन सकेको छैन। हाल बोर्डको खाता रोक्का गरेसँगै सफ्ट टेनिस जेठभित्र सक्नुपर्ने बाध्यात्मक अवस्था छ। अब वर्षा लागेपछि झन् समस्या हुन्छ। उहाँहरूको समस्याले खेलकुदलाई अवरोध नपुराउनुपर्ने तर त्यो हुन सकेन।’
सफ्ट टेनिससँगले प्रतियोगिताका लागि बोर्डसँग करिब २५ लाख रुपैयाँ बजेट माग गरेको थियो। प्रतियोगितामा पाँचवटा प्रदेश र तीनवटा विभागीय टोलीबाट करिब १ सय जना खेलाडी तथा अफिसियल सहभागी हुने तयारी रहेको अध्यक्ष लामाले जानकारी दिए।
उनले भने, ‘प्रतियोगिताका लागि करिब १ महिना अघिबाट तयारी सुरु गरेका छाँै। प्रतियोगितामा खेलाडी सहभागितालाई लिएर प्रदेश र विभागीय टोलीलाई पत्राचारसमेत गरिसकेका छौँ।’
उनका अनुसार खाता भोलि नै खुले पनि निर्धारित जेठ १७ गतेबाट प्रतियोगिता आयोजना गराउन गाह्रो हुनेछ।
प्रतियोगितामा ५ जना पुरुष, ५ जना महिला, प्रशिक्षक, अफिसियल हुनेछन्। पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ ले ३ स्वर्णसहित ६ पदक हात पारेको थियो।
जसमा विराटनगरका युकेश योञ्जनले ३ वटा, आशिष बोहोरा, अष्लेश ढकाल, आभाष बुढाथोकी, जयन्द्र विक्रम रानामगर र महिलातर्फ श्रेया योञ्जनले स्वर्णपदक हात पारेका थिए। पहिलोपटक हुन लागेको प्रतियोगिता बोर्डको खाता रोक्का भएपछि खेलाडी तथा प्रशिक्षक समेत अन्योलमा छन्।
मन्त्रालय र बोर्डबीचको आपसी द्वन्द्वको चपेटामा जेठ ९ गतेबाट भोजपुरमा मुख्यमन्त्री कप फुटबल प्रतियोगिता समेत अवरुद्ध भएको छ। जेष्ठ ९ गतेबाट भोजपुरमा हुने भनिएको तेक्वान्दो प्रतियोगितासमेत रोकिएको छ।
वैशाख २१ गतेबाट इटहरीमा हुने भनिएको मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगितासमेत बजेट निकास नहुँदा अवरुद्ध भइसकेको छ।
बोर्डले खेलकुद आयोजना तालिकामा राखेको १३ वटा खेलकुद कार्यक्रमका लागि करिब १ करोड ४० लाख रुपैयाँको बजेट छुट्टाएको छ। तर, मन्त्रालयले खाता रोक्का गरेपछि कतिपय प्रतियोगिता रोकिएका र कतिपय कार्यक्रम हुने नहुने अन्योलमा छ।