सात घण्टासम्म कुरा नमिलेपछि संसद बैठक भोलि ४ बजेसम्मका लागि स्थगित

काठमाडौँ – एमालेले अवरोध गरेको संसद खुलाउन दलहरु सात घण्टादेखि छलफल गरे पनि कुनै निचोड ननिष्किएपछि बैठक शनिबारसम्मका लागि स्थगित भएको छ।
पशुपतिको जलहरी काण्डमा आफ्ना नेतालाई मुछेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले शुक्रबार दिउँसो बैठक अवरोध गरेको थियो।
दिउँसो १२ः३० बजे २० मिनेटका लागि भनेर स्थगित भएको बैठक सात घण्टासम्म छलफल गर्दा पनि कुनै निष्कर्ष ननिष्किएपछि सभामुख देवराज घिमिरेल शनिबार दिउँसा ४ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।
२० मिनेटमा बैठक सुरु हुन नसकेपछि दिउँसो ४ बजे बस्ने गरी सूचना टाँस गरिएको थियो। उक्त समयमा पनि बैठक बस्न नसकेपछि ६ बजेका लागि तोकियो। बेलुका ७ः३० बजेसम्म पनि प्रमुख सचेतकहरु बसेर छलफल गर्दा कुनै निष्कर्ष ननिष्किएपछि बैठक शनिबारका लागि सारिएको हो।
एमालेले आफ्नो संसदीय दलका नेतालाई जोडेर माओवादी सांसद राजन दाहालले गरेको टिप्पणी हटाउनुपर्ने र माफी माग्नुपर्ने अडान राखेको छ भने सत्ता पक्ष संसदमा छलफलमा उठ्नु स्वाभाविक भएको बताएको छ।
शुक्रबार नीति तथा कार्यक्रममाथि छलफल सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची तय भएको थियो। एमालेको अवरोधका कारण नीति तथा कार्यक्रम पारित गर्ने सत्ता पक्षको योजना विफल भएको छ।