लिगमा सकिए २१ औं चरण:  पुलिस सातौं स्थानमा उक्लिंदा थ्री स्टार शेर्पासँग स्तब्ध

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको २१ औं चरणको समाप्तिमा नेपाल पुलिस क्लबले सातौं स्थानमा आफूलाई पुर्याएको छ। त्यस्तै २१ औं चरणको अन्तिम खेलमा हिमालयन शेर्पासँग थ्री स्टार स्तब्ध बन्यो।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा एफसी खुमलटारलाई २-० गोल अन्तरले हराउँदा पुलिसको जितमा भरत शाह र मोहमद आसिकले समान एक-एक गोल गरे। पुलिसको जितमा दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो। भरतले खेलको ७६ औं मिनेटमा हेडरमार्फत गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ८८ औं मिनेटमा मोहमदले गोल गर्दै पुलिसलाई २-० को जित दिलाए। पुलिसको यो आठौं जित हो। पुलिसले २१ खेलमा २८ अंक जोड्दै लिगको सातौं स्थानमा उक्लिन सफल भयो।

त्यस्तै दशरथ रंगशालामानै भएको दोस्रो खेलमा हिमालयन शेर्पाले भने थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराएको थियो। हिमालयनको जितमा निशान लिम्बुले गरेको एकमात्र गोल निर्णायक बनेको थियो। निशानले खेलको इन्जुरी समयमा टिमलाई महत्वपूर्ण तीन अङ्क दिलाए। हिमालयन २१ खेलमा २९ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ। थ्री स्टारको यो सातौं हार हो। थ्री स्टार २१ खेलमा २६ अंक जोडेर नवौं स्थानमा रहेको छ।

२१ औं चरणको समाप्तिपछि यस्तो छ लिग अङ्क तालिका

जेठ १२, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्