प्रदेश सरकारको बजेट अधिवेशन पूर्व विराटनगरको विभिन्न क्षेत्रमा निषेधाज्ञा, पहिचानवादीको प्रर्दशन

मोरङ- कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशनको पूर्वसन्ध्यामा जिल्ला प्रशासन कार्यालय, मोरङले विराटनगरका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै शनिबार बिहानबाट अनिश्चित समयका लागि देवकोटा चौकस्थित प्रदेशसभा भवन, रोडसेस चौक क्षेत्रमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालय तथा निवास, र जिल्ला प्रशासन कार्यालय लगायतका क्षेत्रमा विरोधसभा, जुलुस धर्ना, र्यालीजस्ता कार्य गर्न नपाउने उल्लेख गरेको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेशको नामाकरणपश्चात असहमत पक्षबाट विरोध, धर्ना, जुलुस, आयोजना गर्दै शान्ति सुरक्षामा असर पर्न सक्ने हुदाँ सुरक्षा जोखिमलाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरिएको जनाइएको छ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुंगले जेठ १४ गते आइतबारका लागि प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गरेसँगै प्रशासनले शान्ति सुरक्षालाई लक्षित गर्दै निषेधाज्ञा जारी गरेको हो।
गत फागुन १७ गते प्रदेशको नामाकरण कोशी राखिएसँगै पहिचान पक्षधरले असन्तुष्टि जनाउँदै आएका छन्। पहिचान पक्षधरले बजेट अधिवेशनसँगै विरोध चर्काउने र प्रदेशसभा भवन, मुख्यमन्त्री कार्यालयतर्फ प्रदर्शन गर्ने जनाउँदै आएका छन्।
शुक्रबार दिउँसो पहिचान पक्षधरका स्वंयसेवकहरूले प्रदेश राजधानी विराटनगरका विभिन्न स्थानमा शान्तिपूर्वक प्रदर्शन गरेका थिए।
कोशी प्रदेशप्रति विमति राख्दै आएका पहिचान पक्षधरको आन्दोलनका क्रममा पदम लिम्बू लाजेहांगको मृत्यु भएको छ।
यससँगै प्रदेशसभामा कोशी प्रदेशको नाममा मतदान दिएर समर्थन जनाएका सत्तारूढ दल नेकपा माओवादी र विपक्षी दल नेपाली कांग्रेसले पहिचानवादीको आन्दोलनलाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै आएको छ।