एमालेको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौँ- नेकपा एमालेको अवरोधका कारण शुक्रबार स्थगित भएको प्रतिनिधिसभाको बैठक शनिबार बस्दैछ। बैठक आज अपराह्न ४ बजेको लागि तय गरिएको छ।

पशुपतिको जलहरी काण्डमा आफ्ना नेतालाई मुछेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले शुक्रबार दिउँसो बैठक अवरोध गरेको थियो।

बैठक संसद खुलाउन दलहरू सात घण्टादेखि छलफल गरे पनि कुनै निचोड ननिस्किएपछि आजका लागि बैठक बोलाइएकाे हाे।

हिजाे दिउँसो १२ः३० बजे २० मिनेटका लागि भनेर स्थगित भएको बैठक सात घण्टासम्म छलफल गर्दा पनि कुनै निष्कर्ष निस्किएकाे थिएन।

२० मिनेटमा बैठक सुरु हुन नसकेपछि दिउँसो ४ बजे बस्ने गरी सूचना टाँस गरिएको थियो। उक्त समयमा पनि बैठक बस्न नसकेपछि ६ बजेका लागि तोकियो। बेलुका ७ः३० बजेसम्म पनि प्रमुख सचेतकहरू बसेर छलफल गर्दा पनि कुनै निष्कर्ष निस्किन सकेन।

एमालेले आफ्नो संसदीय दलका नेतालाई जोडेर माओवादी सांसद राजन दाहालले गरेको टिप्पणी हटाउनुपर्ने र माफी माग्नुपर्ने अडान राखेको छ भने सत्ता पक्ष संसदमा छलफलमा उठ्नु स्वाभाविक भएको बताएको छ।

शुक्रबार नीति तथा कार्यक्रममाथि छलफल सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची तय भएको थियो। एमालेको अवरोधका कारण नीति तथा कार्यक्रम पारित गर्ने सत्ता पक्षको योजना विफल भएको छ।

जेठ १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्