प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० सम्म तय, औपचारिक निर्णय हुन बाँकी

फाइल तस्बिर।
काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको मिति तय भएको छ।
नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले एकसाथ प्रधानमन्त्री दाहालको यही जेठ १७ देखि २० गतेसम्म हुने तय गरेका छन्।
प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले प्रचण्डको भ्रमण तालिका जेठ १७ देखि २० सम्म तय भएको र यसलाई परराष्ट्र मन्त्रालयले औपचारिक घोषणा गर्न बाँकी रहेको देश सञ्चारसँग बताए।
भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा हुन लागेको प्रधानमन्त्री दाहालको चार दिने भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्ट्राचार भेट गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण टोली स्वकीय सचिव गंगा दाहाल, नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।