भ्रष्टाचारविरुद्ध काम गर्दा सरकारलाई चौतर्फी घेराबन्दी भएको छ: सञ्चारमन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारलाई चौतर्फी घेराबन्दी भएको बताएकी छन्।
प्रेस सेन्टर नेपालको १९ औँ केन्द्रीय सधारण सभा तथा २१ औँ कृष्णसेन इच्छकु स्मृति दिवसको अवसरमा शंखरापुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्।
भ्रष्टाचारविरुद्ध काम गर्दा घेराबन्दी भएको मन्त्री शर्माको भनाइ छ।
विगतमा हालीमुहाली गरेकाहरुले घेराबन्दी गर्नु स्वाभाविक भएको भन्दै उनले सरकारले गरेका राम्रा कामको व्यवस्थित ढंगले प्रचार प्रसार गर्नुपर्नेमा जोड दिइन्।
सरकारको प्रवक्ता समेत रहेकी शर्माले संसदमा सानो संख्यामा भए पनि माओवादी केन्द्र नेतृत्वको सरकारले गुणात्मक ढंगले महत्त्वपूर्ण काम गरिरहेको पनि बताइन्।
‘विगतमा जनताको मुक्ति आन्दोलनलाई मिसन बनायौँ, आजको युगमा फरक तरिकाले अघि बढ्न खोजेका छौँ। चुनौतीहरू अझ डरलाग्दा छन्। त्यसैले एकताबद्ध भएर लड्नुपर्ने छ। त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने भएको छ’,उनले भनिन्।
गणतन्त्र दिवस जनयुद्ध र जनआन्दोलनमा योगदान पुर्याएकाहरूलाई पनि सम्मान गर्दै मनाउन सर्कुलर गरेको जानकारी उनले गराइन्।