कानको कुण्डलमै अड्किने यो कस्तो राष्ट्रिय परिचयपत्र?

गोरक्षपीठका पीठाधीश महन्त श्रीषनाथ योगी। फाइल तस्बिर।

काठमाडौँको मृगस्थलीस्थित गोरक्षपीठका पीठाधीश महन्त श्रीषनाथ योगी राष्ट्रिय परिचयपत्र बनाउनु पर्ने भएपछि गत जेठ १० गते काठमाडौँ जिल्ला प्रशासन कार्यालय पुगे।

राष्ट्रिय परिचयपत्रका लागि आवश्यक सरकारी कागजतहरू आफ्नो तीनपुस्ते परिचय खुल्ने गरी लेखे। फारम भरिसकेर जब फोटो टाँस्नु पर्ने भयो तब उनलाई पासपोर्ट साइजको फोटो खिच्न लगाइयो। श्रीषनाथ योगीजस्तो पहिरनमा थिए, त्यही भेषभुषामा फोटो खिच्न तयार भए।

तर अचानक उनले लगाएको कानको दर्शनी (कुण्डल) हटाउन भनियो। उनले भने, ‘यो त एक पटक लगाएपछि निकाल्न मिल्दैन।’ जिल्ला प्रशासन कार्यालयका कर्मचारीले भने योगीले कुण्डली निकालेपछि मात्रै फोटो खिच्न सकिने अडान लिए।

महन्त श्रीषनाथसँगै गएका सहकर्मीले प्रशासनका कर्मचारीलाई सम्झाउन खोजे, तर कर्मचारीले कत्ति मानेनन्। ‘प्रशासनका कर्मचारीले जति गर्दा पनि मानेनन्, कुण्डल निकाल्नैपर्छ भनेर अड्डी लिए,’ श्रीषनाथसँगै रहेका श्रीबृहद् आध्यात्मिक परिषद्का महासचिव योगी दयानाथले भने,  ‘त्यसपछि गुरुजी राष्ट्रिय परिचयपत्र नबनाएरै बाहिर आउनुभयो।’

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र बनाउन फोटो खिच्दा पुरुषले कानमा मुन्द्रा/टप लगाएको भए खोल्ने, चस्मा निकाल्ने, कपाल कालो बाहेक अन्य रङको भए नेपाली ढाका टोपी लगाउने (अन्य कुनै टोपी लगाउन नपाउने), मफ्लर, गम्छा लगाएको भए हटाउने भनिएको छ।

त्यसैगरी, महिलाको हकमा भने चश्मा निकाल्ने, कपाल कालो हुनुपर्ने, अनुहारमा आवश्यकताभन्दा बढी मेकअप भए मुख धुन लगाउने, टीका हटाउने, गाजल पुछ्ने, लिपस्टिक पुछ्ने, कानको झुम्का हटाउने, नाकको फुली ठूलो भएमा हटाउने र धेरै मालाहरू लगाएको भए हटाउने (एक पातलो पोते राख्न सकिने) भनेको छ।

तर योगी दयानाथ राष्ट्रिय परिचयपत्रको नाममा पहिचान मेट्ने काम भइरहेको आरोप लगाउँछन्, ‘समाधिमा जाँदा पनि कुण्डल झिक्ने चलन छैन, यो त पहिचान मेट्ने काम भयो।’

गोरक्षपीठका पीठाधीश महन्त श्रीषनाथ योगीलाई कानमा लगाएको कुण्डल निकाल्न भनेपछि विभिन्न सरोकारवालाहरू विरोधमा उत्रिएका छन्।

श्री श्री गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्रले जेठ ११ गते एक ज्ञापन पत्रमार्फत् घोर भर्त्सना गरेको छ। जिल्ला प्रमुख अधिकारीमार्फत् सरकारलाई समेत ध्यान आकर्षण गराएको छ।

‘रतन्नाथ योगी, भगवान्तनाथ योगी, नरहरीनाथ योगी, शिवशक्तिनाथ योगी लगायत साधु सन्त योग ध्यान, जपतप इज्जत र बलिदानलाइ धज्जी उडाइएको छ। योगीको परिचयमाथि नै अज्ञानता, अमानवीय पहिचान बिहिन बनाउने कार्यले सम्पूर्ण वैद्विक सनातनि नेपालको गौरवमय इतिहास बाकेको नेपाली मोटो नेपाली मनमा आघात र ठेस पुर्‍याएकाे छ। नेपाली पहिचान बाँच्न पाउने अधिकारको हनन् भएको महसुस गराउँदछ’, ज्ञापनपत्रमा लेखिएको छ।

विश्व हिन्दू महासंघले पनि आपत्ति जनाएको छ। महासंघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ओमकार परिवारको आस्था, भावना, पहिचान र नियमविपरीत तस्बिर खिच्ने कार्य अपनाउन लगाइएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यसरी सरकारी परिचयपत्र बनाउने प्रक्रियामा यस्ता खालको व्यवस्था हटाइ हाम्रो धर्म, आस्था, परम्परा र भावना अनुकूल हुने गरी व्यवस्था गरियोस् भनी नेपाल सरकार, गृह मन्त्रालयसमक्ष माग गर्दछौँ।’

महासंघले तीलक टीका र टोपीजस्तो राष्ट्रि पहिचान समेत मेटाउनुपर्ने आदि जस्ता व्यवस्थाले सरकारी परिचय पत्र बनाउने प्रक्रिया हाम्रो सभ्यता र संस्कृतिको भावना विपरीत भएको ठहराएको छ।

विश्व हिन्दू महासंघकी कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले कुण्डल फुकाल्न लगाउन नहुने बताइन्।  ‘कुण्डल लगाउने नाथ सम्प्रदायको परम्परा छ। ओमकार परिवार सबैको पहिचान छ, चिनारी छ,’ भण्डारीले भनिन्, ‘अझ सन्त, महन्तको हकमा त जस्तो अवस्थामा छन्, त्यस्तै राख्नुपर्ने हो।’

विश्व हिन्दू परिषद् धर्मसभाका अध्यक्ष योगी बलभद्रनाथले पनि यसमा असहमति जनाएका छन्। राष्ट्रिय परिषद्को अध्यक्षसमेत रहेका उनले यो व्यवस्था सच्याउनुपर्ने बताए।  ‘सोह्रौँ संस्कारमा कर्णवेध नभएसम्म पहिचान हुँदैन। हाम्रो पहिचान नै मेटिन्छ। शिवको कानमा कुण्डल छ। त्यो नै निकाल्न लगाउनु भनेको जरै उठाउन खोज्नु हो’, योगी बलभद्रनाथले भने।

राष्ट्रिय परिचयपत्र, नागरिकता, राहदानी बनाउँदा जस्तो अवस्थामा छन्, त्यस्तैमा फोटो खिचेर लगाउन पाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। ‘यो सच्याउनुपर्छ, कुण्डल निकाल्न लगाउने व्यवस्था सह्य हुँदैन। तत्काल यो सच्याइएन भने आन्दोलनमा उत्रिन्छौँ’, योगी बलभद्रनाथले भने।

धर्म मास्न लगाएको भन्दै हिन्दुधर्मालम्बीहरू सामाजिक सञ्जालमा पनि पोखिएका छन्। हरिप्रसाद सोडारी लेख्छन्, ‘जनता बेच्नेलाई कुड र सन्तको महत्त्व के थाहा?’

महन्त श्रीषनाथ योगी भने कुण्डली खोल्ने पक्षमा छैनन्। उनी भन्छन्, ‘राष्ट्रिय परिचयपत्र बनाउने नाममा हाम्रो धर्म मास्न राज्यले परिचयपत्रका नाममा लादेको व्यवस्था जबसम्म सुधार हुँदैन, तबसम्म म फोटो खिच्ने छैन।’

डाक्टर बासुदेव कृष्ण शास्त्रीका अनुसार राज्यले कसको लागि यो गरिरहेको छ भन्ने प्रश्न गर्दै घोर भर्त्सना गर्छन्। उनी भन्छन्, ‘राष्ट्रिय परिचयपत्र बनाउने भनेर लगाएको पोशाक खोल्न लगाउने, सिँदुर पोते, टीका, टोपी खोलेर कस्तो राष्ट्रिय परिचयपत्र बनाउन खोजिएको हो। राज्य यति निरीह भयो कि हाम्रो हिन्दु संस्कृति मेटाउनतिर लागिरहेको छ। यो त गोरखनाथको देश हो। गोरखनाथको आशीर्वादले सिर्जेको यो देशमा राज्य धर्म मास्ने काम गरिहेको छ।’

के हो कुण्डल ?

गोरखनाथको उत्तरधिकारीहरुले प्रयोग गर्ने कुण्डल र भेषभूषाको बेग्लै महत्त्व छ। दर्शनी कुण्डली लगाउँदा पवित्र हुने विश्वास छ। धातु तथा कुनै जनावरको दाँत सिँगबाट निर्माण गरिने दर्शनी कुण्डल योगीहरूले विधिपूर्वक लगाएपछि खोल्न मिल्दैन। हिन्दु धर्मअनुसार कुण्डल सन्त परिवारमा घरगृहस्थी छोडेपछि आफ्नो श्राद्ध आफैंले गरिन्छ।

तर्पण गरेर देव श्राद्ध, पितृ श्राद्ध, तीर्थ श्राद्ध र आफ्नो श्राद्ध गरेर स्वतन्त्र भएको अनुभूत गर्छन् कुण्डल लगाउने योगीहरू। ऊनको सुताबाट बनेको जनै र त्यसमा लगाउने हड्डीसँगै लगाइने कुण्डलले योगीहरू स्वतन्त्र हुने विश्वास छ। आफ्नो पीण्डदान दिइ, क्रिया गरी मुक्त हुने पनि गरिन्छ। इतिहासमा नेपाल एकीकरणपछि गोरखप्रथालाई अगाडि बढाउँदै आएका नाथ (पन्त) अग्रज गोरखनाथबाबाको उत्तराधिकारीहरूबाट यो प्रथाको हातेमालो गर्दै आएका बताइन्छ।

गोरखनाथ बाबाका अनुयायी योगीहरूले कान चिरेर दर्शनी (कुण्डली) लगाउँथे र लगाउँछन्। वि.सं. १९८१ मा जुम्लास्थित सिद्ध चन्दननाथ मन्दिरका तत्कालीन मठाधीश योगी छिप्रानाथ महाराजले बलवीरसिंह थापालाई गोरक्षनाथ सम्प्रदायमा दीक्षित तुल्याइ कानमा दर्शनी (कुण्डल) र गैरिक वस्त्र पहिर्‍याइदिएपछि उनको नाम योगी नरहरिनाथ राखिएको थियो।

गोरखनाथ परम्परामा दीक्षित भएका नाथ सम्प्रदायका योगीहरुले कुण्डल लगाउने चलन छ। यो परापूर्वकालदेखि चल्दै आएको परम्परा हो। महन्त श्रीषनाथ योगीलाई योगी नरहरीनाथले दीक्षित गरी उत्तराधिकारी बनाएका थिए। कुण्डली नखोले के राष्ट्रिय परिचयपत्र बन्दैन? यो बहसका विषय बनेको छ।

जेठ १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्