रास्वपाप्रति झलनाथ खनालको टिप्पणीः घण्टी अराजकताको संकेत हो

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी अराजकताको संकेत भएको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा नेता खनालले रास्वपाप्रति लक्षित गर्दै घण्टी अराजकताको संकेत भएको बताएका हुन्।

उनले भने, ‘यो १५ वर्षको समीक्षा गर्दै अब देशलाई अघि बढाउनुपर्छ। यी चिजलाई सच्याउन सकिएन भने देशमा अराजकता सिर्जना हुन्छ। कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान्, यो प्रकारको एउटा अवस्था आउँछ । ढोल र घण्टीहरु भनेका अराजकताका संकेतहरु हुन्।’

उनले आन्दोलनमा ठूलो भूमिका खेलेका पार्टीहरुले देशको विकासका लागि महत्वपूर्ण भूमिका खेल्न नसक्दा अहिलेको अवस्था आएको बताए।

‘यो देशका जुन ठूला मेजर पार्टीहरु हुन्, जसले क्रान्ति गर्न ठूलो भूमिका खेले, तर उनीहरुले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सकेनन्। त्यसकै कारण अहिले परिस्थिति यस्तो भएको हो। नयाँ भिजनका साथ देशलाई अघि बढाउनुपर्छ,’ उनले भने।

यस्तै, नेता खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिए। उनले पूर्वराजा शाह देशका विभिन्न स्थानमा अभिनन्दनमा हिँडिरहेको प्रसंग उठाउँदै उनले पूर्वराजाका गतिविधिबाट लोकतन्त्र गुम्ने स्थिति नरहेको बताए।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टी वा कुनै नयाँ पार्टी खोलेर संसदमा आए लोकतन्त्रको राम्रो पक्ष हुने बताए।

जेठ १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्