कांग्रेस नेता शिवाकोटीको टिप्पणीः पार्टी कुहिरोमा हराएको काग भयो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कांग्रेस कुहिरोको काग जस्तो भैरहेको टिप्पणी गरेका छन्।
प्रेस युनियनको ३२ औं स्थापना दिवस समारोहमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले पार्टी अहिले फाली निस्केको हलो जस्तो भएको भन्दै गुनासो गरे।
‘उत्साह बोकेर आएको साथीहरू देशभर छन्। यो उत्साह घट्दै गएको छ । यसलाइ जोगाउन नेतृत्वले ध्यान दिनुपर्ने छ। तपाईंहरुलाइ हेरेर हामी राजनीतिमा आएका हौँ’ उनले भने।
शिवाकोटीले पार्टी केन्द्रीय समिति बैठक नराखेर सभापति शेरबहादुर देउवाले आधिकारिक धारणा राख्न छेकेको गुनासो गरे।
उनले केन्द्रीय सदस्यहरूले पनि बोल्ने ठाउँ चाहिएको भन्दै बैठकको माग गरे।
‘९ महिनादेखी केन्द्रीय समिति बैठक बस्न सकेको छैन।
पदाधिकारी र पूर्व पदाधिकारीको नाममा पार्टीको निर्णय हुँदै आएको छ, उनले भने,हामीले पनि बोल्ने ठाउँ चाहिएको छ।
पार्टीमा विधानको पालना हुन नसकेको भन्दै निर्मम समिक्षाको माग उनले गरे। पार्टी यसरी चले आउँदो चुनाव फलामको चिउरा चपाउनु सरह हुने उनले जिकिर गरे।
‘विधानको पालना हुन सकेको छैन। यसमा नेतृत्वले निर्मम समिक्षा गर्नुपर्ने अवस्था आएको छ,उनले भने, केन्द्रीय सदस्य साथीहरूको विचार संश्लेषण गरेर नयाँ रुपमा अघि नबढे ८४ सालको चुनाव फलामको चिउरा चपाउनु सरह हुनेछ।’