काठमाडौँ – पशुपतिनाथको जलहरीसम्बन्धी विवादमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रष्टीकरण दिएसँगै प्रतिनिधिसभा बैठक सुचारु भएको छ।
जेठ १० गतेको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेका बेला पशुपतिमा सुनको जलहरी हाल्दा भ्रष्टाचार भएको बताएका थिए। दाहालको उक्त अभिव्यक्तिलाई लिएर शुक्रबार एमालेले संसद् अवरुद्ध पारेको थियो।
सोही विषयमा प्रधानमन्त्री प्रचण्डले शनिबार संसद् बैठक सुरु भएलगत्तै सम्बोधन गरेका हुन्। सम्बोधनका क्रममा उनले पशुपतिमा जलहरी राख्ने क्षेत्राधिकार पशुपति क्षेत्र विकास कोषको रहेको हुँदा ओलीलाई जोड्नु नहुने बताए।
उनले भने, ‘पशुपति विकास कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरीसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सम्मानित सदनमा विचार विमर्श हुनु उचित होइन।’
आज प्रधानमन्त्री दाहालले संसद्मा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदैछन्।