पोखरा – मौसमले लुकामारी खेल्दै छ। क्षणभरमै वर्षात, छणभरमै घाम लाग्छ। घामपानीको वास्ता नगरी फेवाताल किनारको रत्नमन्दिर सिँगारिँदै छ।

शुक्रबार दिउँसो रत्नमन्दिर पुग्दा कोही गमलामा फूल रोप्दै थिए त कोही मर्मतसम्भार गर्दै।
गणतन्त्र दिवसरको अवसर पारेर सोमबारदेखि रत्नमन्दिर खुल्ने भएपछि सरसफाइ, मर्मतसम्भार र सिँगार्ने काम तीव्र गतिमा भइरहेको छ।

बन्द भएको रत्नमन्दिरको ढोका राजतन्त्रको अन्त्य भएको १५ वर्षपछि सर्वसाधारणका लागि खुल्दै छ। रत्नमन्दिर ०१५ सालमा बनेको हो। जहाँ राजा तनावमुक्त हुन आउँथे।

०६२/६३ को जनआन्दोलनले राजासंस्था अन्त्य भइसकेपछि रत्नमिन्दरको ढोका बन्द थियो। बेलाबखत सर्वसाधारणका लागि खुला गर्ने चर्चा चले पनि खुल्न सकेको थिएन।

गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री भएका बेला त निजी क्षेत्रलाई तारे होटल चलाउन दिन सम्भाव्यतासमेत अध्ययन भएको थियो। तर, नागरिकस्तरबाट चर्को अलोचना भएपछि निजी क्षेत्र हातमा पर्न पाएन।

सर्वसाधारणका लागि रत्नमन्दिर खुले पनि दरबारको भुइँतला मात्रै हेर्न पाउनेछन्। रत्नमन्दिर १७४ रोपनी क्षेत्रफलमा फैलिएको छ।
सोमबार रत्नमन्दिर खुला गर्न पर्यटनमन्त्री सुदन किराँती पोखरा आउँदै छन्।