काभा महिला भलिबलः श्रीलंका पाँचाैँ स्थानमा

सांकेतिक तस्बिर।

काठमाडौँ – किर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्दै श्रीलंकाले काठमाडौंमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा पाँचाैँ स्थान हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिवार सम्पन्न खेलमा श्रीलंकाले कीर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै पाँचौँ स्थान हात पारेको हो।

एकपक्षीय खेलमा श्रीलंकाले किर्गिसतानलाई २५–११, २५–२० र २५–१४ को सोझो सेटमा पराजित गरेको हो। त्यस्तै माल्दिभ्सले बंगलादेशलाई ३–१ को सेटमा पराजित गर्दै सातौं स्थान हात पारेको छ। शनिवार नै सम्पन्न खेलमा माल्दिभ्सले पहिलो सेट गुमाएपनि त्यसपछि लगातार तीन सेट जित्दै सातौं स्थान हात पारेको हो। माल्दिभ्सले २१–२५, २५–१४, २५–२३ र २५–१५ ले हराउँदै सातौं स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको हो। बंगलादेश भने आठ टोली सहभागी प्रतियोगितामा पुछारमा रहँदै प्रतियोगिता टुंग्याएको छ।

प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि आइतबार नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। नेपाल र उज्वेकिस्तानबीचको खेल बिहान ११ बजे शुरु हुनेछ। नेपाल दोस्रो सेमिफाइनल खेलमा काजस्कतानसँग ३–२ को सेटमा पराजित हुँदै बाहिरिएको थियो भने उज्वेकिस्तान भारतसँग पराजित भएको थियो। उज्वेकिस्तान पहिलो सेमिफाइनल खेलमा भारतसँग ३–० को सोझो सेटमा पराजित भएको थियो। उपाधिका लागि आईतवार नै भारत र काजस्तानबीच दिउँसो ४ बजे खेल हुनेछ।

जेठ १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्