शीर्ष स्थानको चर्च ब्वाइज संकटासँग पराजित हुँदा मछिन्द्र आर्मीसँग रोकियो

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपाधि दाबेदार चर्च ब्वाइज रेलिगेशन क्षेत्रमा संघर्षरत संकटासँग १–० ले पराजित हुँदा अर्को उपाधि दाबेदार मछिन्द्रले भने विभागीय क्लब आर्मीसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ। योसँगै उपाधि होडको रोमाञ्चकता कायम छ।

च्यासल मैदानमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने आर्मीले लिएको थियो। सुरुवातमा नै अग्रता बनाउने क्रममा १७ औँ मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए।

तर, खेलको ६० औँ मिनेटमा आर्मीका युद्ध शाहीले आत्मघाति गोल गरेपछि मछिन्द्रको सम्भावित हार टरेको थियो। बराबरीसँगै आर्मीले २२ खेलमा ३० अंक जोड्दा मछिन्द्र २२ खेलमा ३६ अंकका साथ दोस्रो स्थानमा कायम छ।

त्यस्तै, शनिबार साँझ दशरथ रङ्गशालामा भएको खेलमा संकटा क्लबसँग शीर्ष स्थानको चर्च ब्वाइज पराजित हुन पुग्यो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ६९ औँ मिनेटमा संकटाले गोल गर्दै खेलमा अग्रता बनाएको थियो।

लेबनानी स्ट्राइकर युसुफ एट्रिसले गरेको एक मात्र गोल निर्णायक बनेको थियो। जारी लिगमा संकटाको यो छैटौं जित हो। संकटाले २२ खेलमा २६ अंक जोडेको छ। चर्च ब्वाइज २२ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा कायम रहेको छ।

जेठ १३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्