तीसौँ जलवायु शिखर सम्मेलन ब्राजिलमा हुने

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा। फाइल तस्बिर

संयुक्त राष्ट्र संघले सन् २०२५ मा अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (कोप-३०) आयोजनाका लागि ब्राजिललाई छनोट गरेको छ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले पनि अमेजोनियन सहर बेलेम डो पारामा तीसाैँ कोप आयोजना गरिने घोषणा गरेका छन्।

अमेरिकी केबल न्युज नेटवर्क सीएनएनका अनुसार राष्ट्रपति लुलाले ट्वीटरमा पोस्ट गरिएको भिडियोमा आफूले इजिप्ट, पेरिस, कोपेनहेगनमा जलवायु सम्मेलनमा भाग लिएको र सम्मेलनमा उपस्थित प्रायःसबैले अमेजनका बारेमा कुरा गरेकाले अमेजनलाई चिनाउन उक्त सम्मेलन अमेजनमा नै गर्न चाहेको उल्लेख गरेका छन्।

ब्राजिलका विदेश मामिला मन्त्री माउरो भिइराले संयुक्त राष्ट्रसंघले गत वर्ष इजिप्टमा भएको जलवायु सम्मेलनमा ब्राजिलका राष्ट्रपति लुलाको अनुरोधलाई स्वीकार गर्दै ब्राजिलको प्रस्तावलाई हालै अनुमोदन गरेको बताएका छन्।

बेलेम डो पारा अमेजन जंगलको किनारमा अवस्थित उत्तरी ब्राजिलको सहर हो।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्