कोशी प्रदेश नाम खारेजीको माग राख्दै आन्दोलन गर्ने ३१ जना पक्राउ

विराटनगर – कोशी प्रदेश नाम खारेजीको माग राख्दै आन्दोलन गर्दै आएका ३१ जना पहिचान पक्षधरलाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार विराटनगरस्थित प्रदेश सभाभवन आसपासमा आन्दोलन गरिरहेका पहिचान पक्षधरलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए।

प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन सुरू हुनुपूर्व पहिचान पक्षधरले बिहानैबाट आन्दोलन जारी राखेका छन्। प्रहरी प्रवक्ता दाहालले हालसम्म प्रदेशसभा भवन पश्चिम अस्पताल चोक, पूर्वतर्फ देवकोटा चोक र अन्य क्षेत्रबाट गरी कुल ३१ जनालाई पक्राउ गरेको बताए।

बजेट अधिवेशनमा सहभागी हुन आउने प्रदेश सभासदस्यहरुलाई रोक लगाउने पूर्व निर्धारित विरोध कार्यक्रमअन्तर्गत पहिचान पक्षधरहरू विराटनगरका विभिन्न स्थानमा भेला हुने क्रम जारी रहेको छ। उनीहरूले गत वर्ष फागुन १७ गते प्रदेश सरकारले राखेको प्रदेशको नाम कोशीकोविरुद्ध असन्तुष्टी जाहेर गर्दै आएका छन्।

पहिचान पक्षधरबाट किरात याक्थुम चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले शान्तपूर्वक गरिएको प्रदर्शनमा प्रहरीले पक्राउ गरेको बताए। अस्पताल चौक र देवकोटा चौकमा विहानबाट प्रदेश सभासदस्यहरुलाई भवनतर्फ जान नदिने क्रममा पक्राउ गरिएको उनको भनाई छ।

प्रहरीका अनुसार प्रशासनले राखेको निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि आन्दोलनकारीलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा पहिचान पक्षधरका नेता थाङ्साङ लावती, दीपा आदाङ्मालगायत रहेका छन्।

प्रदेश सभाले दिउँसो २ बजेका लागि बजेट अधिवेशनको समय तोकेको छ। बजेट अधिवेशन बैठकमा सहभागि हुन आउने प्रदेश सभासदस्यलाई रोक्ने क्रममा प्रदेशका विभिन्न जिल्लाबाट पहिचान पक्षधरको उपस्थिती बढ्दै जाने किरात याक्थुम चुम्लुङका अध्यक्ष येक्तेनले जानकारी दिए।

यसक्रममा प्रशासनले प्रदेश राजधानी विराटनगरको विभिन्न क्षेत्रलाई सुरक्षाका लागि निषेधाज्ञा जारी गरेको छ। जहाँ जुलुस, भेला, लगायतका कार्य गर्न नहुने उल्लेख गरिएको छ। हाल निषेधित क्षेत्रमा सुरक्षाकर्मीसहित सुरक्षा अवस्था कडा बनाइएको मोरङ प्रहरीले जनाएको छ।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्