कालीगण्डकी करिडोरको ६० प्रतिशत काम सम्पन्न

काठमाडौँ – राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर आर्थिक वर्ष २०८३/०८४ सम्म सम्पन्न हुने भएको छ।

सरकारले २०८१ सम्मको लक्ष्य राखे पनि भौगोलिक कठिनाइका कारण बढी समय लाग्ने बताइएको हो। कालीगण्डकी करिडोरअन्तर्गत गैंडाकोट–राम्दीसम्मको सडकखण्डमा भने हालसम्म ६० प्रतिशत प्रगति भएको छ।

आयोजनाको अवलोकन एवं निरीक्षण गर्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सडकखण्डको निर्माणको कामले तीव्रता पाएको बताए।

उनले देशभरका निर्माणका काममा ढिलासुस्ती भए पनि कालीगण्डकी करिडोरको काम चुस्त रुपमा भइरहेको पाएको भन्दै खुशी व्यक्त गरे।

उनले राम्दीदेखि रानीमलसम्मको काम भने सुस्त भएको बताए। उनले कालीगण्डकी करिडोर धार्मिक मात्रै नभइ त्रिदेशीय व्यापारिक मार्गका रुपमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

त्यस्तै, राष्ट्रियसभा सदस्य राजेन्दलक्ष्मी गैरेले कालीगण्डकी करिडोरको काम उल्लेख्य रुपमा राम्रो भए पनि पुल निर्माणमा भने समस्या देखिएको बताए। उनले कालीगण्डकी डाइभर्सनको कुराले धेरैलाई चिन्तित बनाएको भन्दै यसमा आवश्यक ध्यान जानुपर्नेमा जोड दिए।

त्यस्तै, लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले कालीगण्डकी करिडोरको स्तरोन्नतिका लागि धेरै काम गर्न आवश्यक रहेको बताए। उनले विकाससँगै करिडोर जोडिएका क्षेत्रहरुमा रोजगारी र उत्पादन क्षेत्रमा जोड दिनुपर्ने बताए।

त्यस्तै, गैंडाकोट–राम्दी सडकखण्डसम्मका आयोजना प्रमुख शंकर पौडेलले कालीगण्डकी करिडोर धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा नै महत्वपूर्ण हुने बताए। उनले अहिले काम भइरहेको केही ठाउँमा काम ढिलासुस्ती भइरहकाले नयाँ ठेक्का दिनुपर्ने आवश्यकता देखिएको बताए।

गैंडाकोट–राम्दीसम्म यस आर्थिक वर्षमा ७५ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखे पनि अहिलेसम्म भौगोलिक समस्याका कारण ५० प्रतिशतमात्रै काम सम्पन्न भएको र बाँकी समयमा यस आर्थिक वर्षमा ७० प्रतिशतसम्म सडक कालोपत्रे गर्ने बताए। उनले ठेक्कापट्टालाई आधार मान्दा गैंडाकोट–राम्दी सडकखण्डमा ६० प्रतिशत भौतिक प्रगति हासिल भएको उल्लेख गरे।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्