सांसदहरुको आरोपः पुँजीगत खर्च गर्ने मन्त्रालयहरुको सिलिङ घटाएर सरकार उल्टो बाटो हिँड्यो

फाइल फोटो।

काठमाडौँ – सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत खर्च गर्ने मन्त्रालयहरुको सिलिङ घटाएर सरकार उल्टो बाटोमा गएको बताएका छन्।

आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सांसदहरुले सरकारले पुँजीगत खर्च गर्न नसकिरहेको अवस्थामा सबैभन्दा बढी पुँजीगत खर्च गर्ने मन्त्रालयहरुलको बजेट सिलिङ घटाएर उल्टोबाटोमा सरकार जान लागेको आरोप लगाएका हुन्।

उनीहरुले योजना आयोगले बजेट निर्माण गर्दा सरकारलाई दिने योजनाहरु वास्तविकतामा आधारित भएर दिन आवश्यक रहेको बताए। उनीहरुले योजना आयोग अब केन्द्रमा मात्रै नभएर ७७ जिल्लामा विस्तार गरी स्थानीय आवश्यकताका आधारमा आयोजनाहरु छनोट गर्न आवश्यक रहेको बताए।

त्यस्तै, सांसदहरुले मुलुक आर्थिक रुपमा संकटग्रस्त अवस्थामा रहेको भन्दै धेरै उद्योगीहरु सडकमा आउन लागेको बताए।

बैठकमा बोल्दै अर्थसमिति सदस्य सूर्यबहादुर थापाले अहिले सबैभन्दा बढी दबाब भौतिक पूर्वाधारमा भए पनि योजना आयोगले ३२ प्रतिशत बजेटको सिलिङ घटाउनु राम्रो नभएको बताए। उनले भौतिक मन्त्रालयको १ खर्ब ६६ अर्बबाट १४ अर्ब सिलिङ घटाएको भन्दै पुँजीगत खर्च भएन भन्ने तर पुँजीगत खर्च गर्ने मन्त्रालयको बजेट घटाएर सरकार एनजीओ बेसिसमा जान खोजेको बताए।

त्यस्तै, अर्को सांसद पूर्णबहादुर तामाङले राष्ट्रिय योजना आयोग ७७ जिल्लामा शाखा विस्तार गरी खानी तथा जलविद्युतको सम्भावनाको विषयमा अनुसन्धान गर्न आवश्यक रहेको बताए। उनले स्थलगत रुपमा अनुसन्धान गरी आयोजनाहरुको निर्माणको विषयमा योजना बनाउन आवश्यक रहेको बताए।

त्यस्तै, सांसद मेटमणि चौधरीले मुलुक दुई/तीन महिनापछि आर्थिक रुपमा टाट पल्टने अवस्था देखिएको बताए। उनले आर्थिक मन्दीको कारण धेरै उद्योगीहरु सडकमा आउन थालेको बताए।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्