कोरोनाको साप्ताहिक विश्लेषण

घटिरहे पनि अझै बाँकी छ कोरोनाको अवशेष

हाल कोरोना संक्रमण विश्वभरि निकै कम भइसकेको छ र विस्तारै कोरोना प्यान्डेमिक एक इतिहास बन्दैछ। सन् २०२० को जनवरी ३० का दिन WHO ले कोरोना संक्रमणलाई आकस्मिक जनस्वास्थ्य सरोकारको रुपमा घोषणा गरेको थियो भने मार्च ११ का दिन प्यान्डेमिक घोषणा गरेको थियो। तत्‌पश्चात हालसम्म करिब पौने एक अर्ब मानिसमा कोरोना संक्रमण देखापरिसकेको छ भने करिब ६० लाख जनाले आफ्नो ज्यान यसैका कारण गुमाएका छन्।

हालसम्म अत्यधिक संक्रमण देखिएका देशहरुमा अमेरिका, चीन, भारत, फ्रान्स, जर्मनी, ब्राजिल, जापान, कोरिया, इटाली, बेलायत आदि पर्दछन् भने युरोप र एसिया सबैभन्दा धेरै संक्रमण देखिएका महादेश हुन्। 

सन् २०२० मार्चमा कोरोना प्यान्डेमिक सुरु हुनुभन्दा अघि विश्वमा कुल कोरोना संक्रमण दैनिक ५ हजारभन्दा कम र दैनिक मृत्यु १०० जति हुन्थ्यो। पछिल्लो समय विश्वको दैनिक कोरोना संक्रमण ५० हजार र दैनिक मृत्यु १५०-३०० जति हुने गरेको छ। त्यस अर्थमा हाल पनि विश्वको दैनिक कुल कोरोना संक्रमण र मृत्यु प्यान्डेमिकअघिको  तुलनामा  निकै धेरै छ। तर कोरोना संक्रमणको असर र प्रभाव भने समुदायमा निकै कम भइसकेको छ। त्यसको मूल कारण जनचेतनामा आएको सुधार र भ्याक्सिनको प्रभावकारिता नै हो। 

विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसियाको पछिल्लो करिब डेढ महिना, सन् २०२३ एप्रिल १ देखि मे २२ (५२ दिन) को कोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र नं. १ मा देखाइएको छ। विगत तीन महिनाभन्दा लामो समयदेखि दक्षिण एसियामा पुनः सुरु भएको पछिल्लो प्यान्डेमिक लहर चित्रमा देखाइए जस्तै, हाल आएर फेरि निकै कम भएको छ। पछिल्लो समय दैनिक संक्रमण संख्या औसतमा १७ सयभन्दा कम  रहेको छ।  

त्यस्तै, पछिल्लो समय दक्षिण एसियामा दैनिक कुल मृत्युको प्रवृत्ति पनि केही घटेको छ। हाल यो संख्या औसतमा करिब १५मा झरेको छ।  

नेपालको दैनिक नयाँ संक्रमण


सन् २०२३ मे २१ देखि २७ (वि.सं २०८० जेष्ठ ७ देखि १३) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र नं. २ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल  सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ताको सात दिन, जेष्ठ ७ देखि १३ गते शनिबारसम्म, देशभरि जम्मा ३३  जना नयाँ संक्रमित थपिइ जम्मा संक्रमितको संख्या १० लाख ०३ हजार ३२५ पुगेको छ। दुई हप्ताअघि नेपालमा साप्ताहिक कोरोना संक्रमण संख्या ७६ पुगेको थियो। 

त्यस्तै, चित्र नं. २ ले नेपालको गतहप्ताको दैनिक कोरोना संक्रमण दरको प्रवृत्ति पनि देखाएको छ। गतहप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम १.०३% देखि अधिकतम ५.०८% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर २.१४% पुगेको छ जुन दुई हप्ताअघि ३.२८% थियो। 

गतहप्ता पनि नेपालमा शून्य कोरोना मृत्यु भेटियो र हालसम्म देशको कुल कोरोना मृत्यु १२ हजार ३१  पुगेको छ। गतहप्ता देशभरि जम्मा १६५८ पीसीआर परीक्षण गरियो, जुन संख्या दुई हप्ताअघि २ हजार ३११ थियो। 

संक्षेपमा, विश्वमा हाल कोरोना संक्रमणमा निकै कमी आइसकेता पनि दैनिक संक्रमण र मृत्यु प्यान्डेमिकपूर्वको अवस्थामा अझै पुगिसकेको छैन। तर कोरोना संक्रमणको असरमा भने निकै सुधार भएको छ।

हाल दक्षिण एसियामा पनि कोरोना संक्रमणको प्रवृत्ति निकै घट्दै गएको देखिन्छ। विगतभन्दा गतहप्ता कोरोना संक्रमण निकै कम भएको छ। त्यस्तै, कोरोना मृत्युमा पनि कमी देखिएको छ। 

नेपालमा पनि गतहप्ता, वि.सं २०८० जेष्ठ ७ देखि १३, साप्ताहिक नयाँ कोरोना संक्रमण संख्या निकै घटेको छ। गतहप्ता दुई हप्ताअघिको भन्दा साप्ताहिक कोरोना संक्रमण, कोरोना मृत्यु र दैनिक कोरोना संक्रमण दरमा क्रमशः घट्दो प्रवृत्ति देखिएको छ।

स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वव्यापी र देशव्यापी निकै कमी आइसकेता पनि यसको अवशेष अझै पनि बाँकी रहेको छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ति साबित हुन सक्दछ।

यस लेख नेपालमा साप्ताहिकरुपमा प्यान्डेमिक हेर्ने ऐनाको  रुपमा प्रस्तुत  गरिएको छ। यस लेखमा नेपाल र विश्वमा प्यान्डेमिकको बारेमा तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि होशियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्