कांग्रेसलाई काम गरेर देखाउने अवसर छ: मीनेन्द्र रिजाल

नेपालगञ्ज – नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले कांग्रेसलाई काम गरेर देखाउने अवसर रहेको बताएका छन्।

नेपाली कांग्रेस बाँकेले आइतबार पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य डा.रिजालले राज्य सत्ता सञ्चालनमा कांग्रेसको निर्णायक भूमिका रहेकाले पार्टीको शाखलाई पुनःस्थापित गर्ने अवसर रहेको बताए।

‘अहिले कांग्रेस केन्द्र सरकारमा छ, प्रदेशमा हाम्रै नेतृत्व वा हामी सम्मिलित सरकार छ। बढी स्थानीय तह हामीले नै जितेका छौँ, त्यसैले काम गरेर जनतामा आशा जागृत गराउने राम्रो अवसर हाम्रासामु छ,’ उनले भने।

डा.रिजालले एक अर्कालाई दोषारोपण गरेर पार्टी नबन्ने बताउँदै कांग्रेसलाई फेरि बलियो पार्टीका रुपमा पुनःस्थापित गर्न एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए।

उनले कांग्रेसले अब आफैंले आफैंलाई ऐनामा हेरेर गम्भीर आत्मसमीक्षाका साथ अघि बढ्ने प्रण गर्नुपर्ने समय आएको उल्लेख गरे।

जनतामा देखिएको ठूलो निराशालाई आशामा बदल्ने अठोट कांग्रेसले गर्नुपर्ने डा.रिजालको भनाइ छ।

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले तल्लो तहदेखि माथिल्लो तहका सबै नेतृत्व पंक्तिदेखि आमकार्यकर्ता विधि-विधान अनुरुप चल्नुपर्नेमा जोड दिए।

उनले नेता कार्यकर्ताहरु आपसमा संवाद गरेर एकताबद्ध भई पार्टी बलियो बनाउने अभियानमा लाग्नुको विकल्प नरहेको बताए।

‘टिम बनाउने होइन, टिम बिर्सनूस्, मन पर्ने नेताको जयजयकार र मन नपर्नेको खेदो खन्ने होइन, विधि-विधान र एजेण्डालाई हेर्नूस्,’ सभापति पुनले भने, ‘टिम बिर्सनूस, पार्टी बनाउन लाग्नूस्।’

जिल्ला सभापति नारायणप्रसाद गौडेलले बाँकेमा कांग्रेसलाई कमजोर हुन नदिने दृढता व्यक्त गरे। उनले पार्टी बनाउने चासो र चिन्ता आफूहरुमा रहेको बताउँदै सधैं अवसरको खोजीमा दौडिनेहरूले पार्टी छोड्दा विचलित हुन जरुरी नरहेको बताए।

कार्यक्रममा जिल्लाका आधा दर्जन नेता कार्यकर्ताहरूले डा.रिजालसमक्ष जिज्ञासा र सुझाव राखेका थिए।

कार्यक्रममा केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, निवर्तमान सभापति किरण कोइराला लगायत नेता कार्यकर्ता उपस्थित थिए।

उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरका थिए।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्