रौतहटमा हालै भएको हत्याकाण्डमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न प्रभु साहको माग

फाइल तस्बिर।

काठमाडौँ- आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले रौतहटमा हालै भएको दुईवटा हत्याकाण्डमा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले शान्ति, सुरक्षा कायम गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

अध्यक्ष साहले हावाहुरीपछि आएको चट्याङमा परी ज्यान गुमाएकी रौटहट मौलापुरकी प्रतिमा देवीको परिवारलाई आवश्यक राहत उपलब्ध गराउन पनि सरकारलाई सचेत गराए।

उनले भने, एक हप्तामा रौतहटमा दुईवटा हत्या भयो। गौर सदरमुकाममै छुरा हानेर हत्या भयो। त्यसकाे पाँच दिन पनि नबित्दै रौतहटकै अर्का झण्डै ७० वर्षीय वृद्धको गोली हानेर हत्या भयो। हत्या आतंकले त्रासको स्थिति सृजना भएको छ। म सभामुखमार्फत् नेपाल सरकारलाई शान्ति, सुरक्षाको अवस्थाको अवस्थामा सुधार गर्न र अपराधीलाई कानुनको दायरामा ल्याउन म विशेष आग्रह गर्न चाहन्छु। केही दिन अगाडि आएको हावाहुरी र चट्याङले मौलापुरमा एक जना प्रतिमा देवीको मृत्यु भयो। त्यो परिवार अहिले अलपत्र छ। सरकारले त्यसको व्यवस्थापन गरेर क्षतिपूर्तिको व्यवस्था गर्न म सरकारलाई आग्रह गर्न चाहन्छु।’

अध्यक्ष साहले खेतीबाली नष्ट भएका किसानहरूलाई क्षतिपूर्ति दिने काममा सरकारले ढिलाइ गर्न नहुने समेत बताए।

 

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्