मनोवैज्ञानिक प्रणालीले घट्छ बालबालिकाको नकरात्मकता

स्मार्ट प्यारेन्टिङ नेपालले ‘बालबालिकाहरुमा मनोवैज्ञानिक प्रतिरोधात्मक प्रणाली कसरी विकास गर्ने’ भन्ने विषयमा शनिबार भर्च्युअल कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा साइकोथेरापिस्ट सिरु भण्डारीले स्रोतव्यक्तिका रुपमा साना बालबालिकामा मनोवैज्ञानिक प्रतिरोधात्मक प्रणाली कसरी विकास गर्ने भन्ने विषयमा आफ्नो अनुभव र विचारहरु प्रस्तुत गरिन्। 

भण्डारीले बालबालिकाहरुमा  उनीहरुको मनोवैज्ञानिक पक्ष र सामाजिक पक्षबीच अन्तर्क्रिया गर्दा नकारात्मक प्रभावहरु पर्न सक्ने र मनोवैज्ञानिक प्रतिरोधात्मक प्रणालीले  ती नकारात्मक प्रभावहरु कम गर्ने  विचार प्रस्तुत गरिन्। उक्त कार्यक्रममा उनले अभिभावकहरुले आफूहरुमा रहेको समस्या समाधान गरेर, बालबालिकाहरुको कुराहरु सुनेर, बुझेर  तथा उनीहरुलाई बाह्य क्रियाकलापहरुमा सक्रिय गराएर, उनीहरुको स्वस्थ खानपान र जीवनशैलीमा ध्यान दिएर, उनीहरुको गृहकार्य तथा पढाइमा सहयोग गरेर आदि जस्ता विभिन्न तरिकाहरुले बालबालिकाहरुमा मनोवैज्ञानिक प्रतिरोधात्मक प्रणाली  विकास गर्न सकिने पनि बताए। उनले सहभागी अभिभावकहरुको उक्त विषय सम्बन्धी विभिन्न जिज्ञासाहरुलाई पनि सम्बोधन गरे।

बालबालिकाहरुको समष्टिगत विकासका निम्ति अभिभावकहरुमा अभिभावकीय सिप अनि कलाको  विकास गरेर यसको महत्वलाई प्रबर्द्धन गर्ने हेतुले स्मार्ट प्यारेन्टिङ नेपालले हरेक महिनाको दोस्रो शनिबार अभिभावकीय ज्ञान वृद्धिसँग सम्बन्धित विभिन्न विषयमा नि:शुल्क भर्च्युअल कार्यक्रमहरु सञ्चालन गरिरहेको छ।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्