कवि राजु स्याङ्तानसँग अन्तर्वार्ता:

प्रचण्डहरू सत्तामा पुग्छन् र आफूले बाँडेका सबै सपना बिर्सन्छन् 

कवि राजु स्याङ्तान पहिलो कवितासंग्रह ‘ओ पेङदोर्जे’का कारण चर्चामा छन्। महोत्तरी खयरमाराका कवि स्याङ्तान पत्रकारिता, लेखन तथा सामाजिक तथा राजनीतिक आन्दोलनमा पनि सक्रिय छन्। त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका स्याङ्तान आफ्नो जातिको आत्मसम्मान खोज्न कवितामार्फत आवाज उठाइरहेका छन्। दलित, आदिवासी, सीमान्तकृत समुदाय तथा भूमिहरणसम्बन्धी अनुसन्धान र फिचर रिपोर्टिङमा व्यस्त छन्। समकालीन नेपालका अत्यधिक कष्टकर क्षणहरुको मर्मबोध गराउन खोज्दै आएका कवि स्याङतानसँग देश सञ्चारले गरेको कुराकानीको सम्पादित अंश :

ओ पेङदोर्जे भनेको के हो, यसलाई इतर तामाङले कसरी बुझ्ने?

पेङदोर्जे भन्ने नाम तामाङ समाजमा चाहिँ प्रख्यात नाम हो। शिकारी युगमा डम्फु आविष्कार गर्ने एकजना कलाकार अथवा आविष्कारक, जसलाई पेङदोर्जे भनिन्छ। यो पेङ्दोर्जेमार्फत तामाङले पुकारेको क्षण हो। आजको समाजमा डम्फू बजाउँदै तामाङ सेलो गाउन पाएनौँ, सैलुङ र महाभारतको लेकमा हामी हिँड्न पाएनौँ। हाम्रो अधिकार खोसियो। आजको समाजमा पनि हामी पिपा नै दरियौँ। पिपा नै करार गरियो। हामी आज मासिने मतवालीकै रुपमा आफ्नो जीवन बिताउन बाध्य छौँ भनेर पेङ्दोर्जेले भित्रको आवाज बोल्नु भएको थियो। त्यही मिथकलाई मैले कविता संग्रहको नाम राखेको हुँ।

तपाईँको आफ्नै संघर्ष चाहिँ कहाँबाट सुरु भयो?

आम नेपालीहरुको अवस्था अहिले पनि दयनीय छ। अहिले पनि के खाने, के लाउने अवस्था छ गाउँगाउँमा। गरिबी घट्दै गए पनि मिठोमसिनो खानका लागि संघर्ष गरिरहेका छन् मानिस । वैदेशिक रोजगारीले केही सजिलो बनाए पनि म चाहिँ गरिबी, अभाव, बहिष्करण, सीमान्तकृत समुदायको हुँ। राणाहरुले लखेटेर हाम्रा बाउपुर्खाहरुलाई मधेश पुर्‍यायो। फेरि पञ्चायत आएपछि त्यहाँ पनि राणाहरुसँगै काम गर्नेहरु जसले सत्ता चलाउन सघाएका थिए, जोसँग जमिन थियो, बिर्ता थियो, त्यो समुदाय मधेश पुग्यो, फेरि तिनीहरुले सीमान्तकृत बनाए। हेपिएको चेपिएको तामाङ समुदायको कथा लामो छ।

ओ पेङदोर्जेले आदीवासीहरुको प्रकृतिसँगको प्रेम खोसिएको भन्ने वकालत गर्छ, हो?

पेङदोर्जेले हिमालको फेदीमा आफ्नै तालले, मनमौजी तालले अथवा  स्वतन्त्र जीवनशैली बाँच्दै आएको थियो । देश थिएन, सीमाना थिएन । गाई मार्‍यो, खायो भनेर ज्रिबो स्लिप हुँदा समाएर लैजाने पुलिस वा अदालत थिएन । बरू प्रकृतिसँग नजिक थियो । प्रकृतिसँग आत्मिय भावना थियो । प्रेम थियो । मानव सभ्यता त्यसरी अगाडि बढ्दै–बढ्दै आएको नै हो । मूलतः आदीवासीहरुको प्रकृतिसँगको प्रेम जब खोसियो तब त्यहाँबाट समस्या सुरु भएको हो। यसको मतलब फेरि जंगल जानुपर्‍यो भन्ने होइन। मेरो आशय के हो भने, प्रकृतिलाई हामीले अस्वभाविक रूपमा अतिशय शोषण गर्‍यौँ। प्रकृतिबाट प्रेम खोसियो, मान्छे मान्छे बिचको प्रेम खोसियो। टुटेको सपनाबाट बिचलित हुन नदिन पनि कवितामार्फत कोशिश गरेको हुँ।

कवितामार्फत आफ्नो समुदायको वकालत गर्छु भन्ने लागेको थियो?

त्यस्तो लागेको थिएन, किनकि कविता भन्ने विधाचाहिँ नेपालमा एउटा निश्चित जातिका लागि मात्रै लेख्न छुट्याइयो। बनारस गएर जसका बाउबाजे पढेर आए, छन्दको ज्ञान लिएर आए, जसको घरमा रामायण हुन्थ्यो, पुराण हुन्थ्यो, रातभरि पुराण भन्ने र सुन्ने गर्थे। त्यो समुदाय र समूहले मात्रै कविता लेख्ने र पढ्ने भनेर छुट्याइयो। तिनले मात्रै कथा, कविता, नाटक लेख्ने हो भनेर छुट्याइयो। तामाङ भनेको त भारी बोक्ने जात भनियो। स्कुलका दिनहरुमा कविता लेखिएला भनेर सोचेको थिइनँ। कविता त स्कुलमा आएर त सिक्न थालेको हो। कोर्समा जे भेटिन्थे, त्यो पढियो। राजा महाराजाहरूको प्रशंसा गर्ने र वीरभक्तिको गुणगान गाउनु नै कविता थियो। निश्चित लिङ्ग, निश्चित जाति र समुदायले मात्रै लेख्नुपर्छ भन्ने भयो। त्यतिखेर कविता लेख्ने कुनै सोच थिएन। यो त समयले सिकाउँदै ल्याएको न हो।

यो तपाईँले भोगेको अनुभव र देखेको नेपाली समाज र भूमिका कुरा कवितामा ल्याउनु भएको छ नि ?

यो दुई दशकमा नेपाली समाज के परिवर्तन आयो, दश वर्ष सशस्त्र जनआन्दोलनले के दियो, हामीले गरेको कोशिशले के नेपाली समाजमा ठूलो फड्को मार्‍यो त? अँह, तर प्रभुत्वशाली समाजलाई हेर्ने हो भने नेपाली समाजको बनोट नै मिलेको छैन। घरको पिल्लर नै मिलेको छैन। एउटा समुदायलाई जगमूनि राखेर दबाएको छ भने अर्को समाजलाई घरमाथि राख्ने गरेको छ। स–सानो तरङ्गले पनि नेपाली समाजलाई हल्लाउनुको कारण हाम्रो घरको जग बलियो नभएर हो। यस्तो किन हुन्छ भने (कविको आँखाबाट हेर्दाखेरि) हाम्रो समाजको जग मिलेको छैन । अब जग किन मिलेन– चार सय वर्ष यताका (महेशचन्द्र रेग्मी) किताब सर्रर हेरियो भने (मैले सबै हेर्न पाएको छैन, हेर्ने कोसिस गरेको छु) अथवा नेपाली समाजको जगचाहिँ कुन समुदायले विर्ता पाउँदैपाउँदै आयो, कसले जमिनको आधारमा टेक्दैटेक्दै राज्यको उच्च तहमा पुग्यो भनेर हेरियो भने– जुन समुदायले बिर्ता पायो, जुन समुदायसँग जमिनको स्वामित्व थियो, त्यही समुदायको मान्छे राज्यको चारै अंगमा छ। सरकारमा छ, सदनमा छ । मन्त्रालयमा छ, उसैको हालिमुहाली छ। तलका मान्छेलाई एकोहोरो शोषण गरियो। अनि सामाजिक सद्भाव खलबल्याउने त आखिर जमिन हुनेहरु राज्यको चारै अंगमा पुगेकाहरुले रहेछ भन्ने बुझ्न सक्ने भएपछि कवितामार्फत बोल्न थालेको हुँ।

त्यसो भए जमिन हुनेहरुले नै आदिवासी र दलितलाई सुकम्बासी बनाउँदै आएको हो ?

सामान्तवादको एउटा महत्वपूर्ण विषय भनेको जमिन हो र जमिनचाहिँ चाहिँ एउटा मात्रै वर्चस्वशाली समुदायले वा लिङ्गले लिइरह्यो। खस आर्यले मात्रै लिइरह्यो। त्यही जमिनमा टेकेर राज्यको विभिन्न अंगमा उक्लिइरह्यो। जो जमिनको स्वामित्वबाट लखेटियो, त्यो समुदाय आज पनि समाजको पिँधमा बस्नु परेको छ। मेरो उदाहरण दिनुपर्दा २ सय पचास वर्ष अगाडिदेखि हाम्रो पुर्खा सिन्धुपाल्चोकबाट धपाइएर सिन्धुली पुर्‍याइएको थियो। (त्यसको लेख्यचाहिँ अझै खोज्नुपर्छ है) वि.सं. १९८० ताका महोत्तरीको चुरेको फेँदमा पुगिसकेको थियो। खोरिया फाँडेर बसेको जमिनमा राणा शासन अन्त्यसँगै फेरि माथि पहाडिया सामन्ती र मधेशको सामन्तीको चेपुवामा परेर तामाङले जोगाएको जमिन हडप्न थालियो। यसरी नेपालमा दलित आदिवासीको जमिन हडप्ने कोशिश भइरह्यो। १९१० मा मुलुकी ऐन बनेसँगै जमिन बारे व्यवस्थित अध्ययन भएको छ। जमिन कसले पाउने कसले नपाउने भन्ने भूमि सम्बन्धी राम्रो व्यवस्था छ। सुकम्बासीहरुको जन्म नै त्यहीबाट भएको हो भन्ने भनिन्छ। (त्यसको अध्ययन अझै बाँकी छ) अहिले ७० लाख सुकम्बासी कहाँबाट आए त किनकी राज्यले नै लखड्दै–लखड्दै लगिएको हो नि। भूमिबाट बेदखल हुने समुदाय अब बोल्नु पर्छ र त्यो आवाज उठाउन ओ पेङदोर्जेले सहयोग गर्छ भन्ने लाग्छ।

सशस्त्र जनयुद्धमा तपाईँ पनि होमिनु भयो र युद्धलाई नेतृत्व गर्नेहरु भने मुलुक हाँकिरहेका छन्। तपाईँको कवितामा भने योद्धाहरू अझै सुखको सास फेर्न सकेको छैन, हो नि?

त्यो चाहिँ नेपालमा अहिलेसम्म भएका सबै सामाजिक तथा राजनीतिक आन्दोलनलाई भन्न खोजेको हुँ। राणा शासन अन्त्यपछि ७० वर्षको लोकतन्त्रको इतिहासमा विभिन्न पार्टीहरू आए। यसलाई हामी एउटा रेल मानौँ– १९९६ यता कांग्रेसहरुले एउटा लोकतान्त्रिक समाजको परिकल्पना गरेर आयो, जुन गणतन्त्रसम्म आयो। त्यसैगरी ६ सालमा कम्युनिष्ट गठन भएपनि झापा विद्रोहदेखि अर्थात २०२८ सालदेखि एमाले आयो। यो पनि गणतन्त्रसम्म आयो। अब २०५२ सालदेखि अर्को रेल हाँक्न माओवादी आयो, जहाँ हजारौ मानिसहरु मारिए। नेपालमा देखिएको तीन वटै रेलचाहिँ त्यसका चालकहरुले आ–आफ्नै स्वार्थका लागि आफ्नो गन्तव्यतिर कुदाए। यति भएपछि बुझिन्छ– यहाँ लोकतन्त्रको मञ्चन भइरहेको छ। आज पनि रित्तो प्लेटफर्ममा सपनाको रेल, विकासको रेल, आउँला कि भनेर बसेका छन् गरिब,निमुखा दलित आदीबासीहरू। हरेक चार चार वर्षमा हुने चुनाव पनि विकासे रेल हो भनेर आशा राखेर के गर्नु विकास त निश्चित व्यक्तिको हुँदोरहेछ।

तपाईँको कविता छुटेको प्रचण्ड र राष्ट्रप्रमुख रहेका पुष्पकमल दाहाललाई कसरी जोड्नु हुन्छ ?

२००७ सालदेखि नै प्रचण्ड जस्ता धेरै मान्छेले सपनाबाहेक केही देखाउन सकेनन् । इतिहासको कालखण्डमा हेर्ने हो प्रचण्डजस्ता धेरै मान्छेले आशा मात्रै देखाए । आन्दोलन गरे । मान्छे मारे र सत्तामा पुगेपछि सबै बिर्सिए । एक समय प्रचण्डसँग केही आशा र अपेक्षा थियो । उनको सपना र आफ्नो सपनाको लय मिल्थ्यो। प्रचण्ड जब पुष्पकमल दाहाल बनेर सिंहदरबार पसे त्यसपछि प्रचण्ड रहेनन् । मैले त प्रचण्ड जस्तो देखे त्यस्तै लेखेँ– छुटेको प्रचण्ड । अहिले त वडा,वडामा प्रचण्ड जन्मिएका छन्, जो एउटा भन्छन्, अर्को गर्छन्। यो नेपाली समाजको ठूलो विडम्बना हो।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्