खैरो हेरोइन कारोबार गर्ने गिरोहका ६ जनासहित ७ पक्राउ

सांकेतिक तस्बिर

काठमाडौँ – लागूऔषध खैरो हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोहसहित ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टिमले लागूऔषध खैरो हेरोइन कारोबार गर्ने नेटवर्कको गिरोहसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

प्रहरीले जेठ ९ गते काठमाडौँको बोद्ध टुसालस्थित एक होटलबाट लागुऔषध खैरो हेरोइन २० ग्राम, डिजिटल तराजु १ थान र नेपाली रुपैयाँ ७ लाख ४० हजारसहित झापाका २७ वर्षीय किरण कन्दङ्वा, जेठ ११ गते काठमाडौँ महानगर वडा नम्बर ९ बाट खैरो हेरोइन ९४ ग्रामसहित झापाकै वर्ष २८ का विजय लिम्बू, जेठ ११ गते नै झापाको चन्द्रगढीबाट झापा मेची नगरपालिकाका वर्ष २९ का माधव मेचे र विनोद लिम्बू पक्राउ गरेको प्रहरी उपरीक्षक एवं लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता चक्रराज जोशीले बताए।

उनका अनुसार जेठ १२ गते झापाको भद्रपुर नगरपालिकाबाट खैरो हेरोइन १९४ ग्राम ५४० मिलिग्रामसहित भारत पश्चिम बंगाल दार्जिलिङ जिल्लाका वर्ष २२ का शिव घोष र सोही ठेगाना भएकी वर्ष २६ की श्यामला सोरेनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ।

यस कारबाहीमा नेपालीलाई लागुऔष खैरो हेरोइन उपलब्ध गराउने मुख्य व्यक्ति भारतीय नागरिकहरुसमेतलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको बताए।

त्यस्तै, प्रहरीले लागुऔषध चरेस तीन किलो ६०० ग्रामसहित १ जना नेपालीलाई पक्राउ गरी कारबाही अघि बढाएको छ। सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका वर्ष ४२ का तेम्बा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई जेठ ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्याण्ड जाने क्रममा पक्राउ गरिएको हो।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्