नागरिकता विधेयकबारे प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनकः रघुजी पन्त

रघुजी पन्त। फाइल फोटो।

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

राष्ट्रपति कार्यालयमा थन्किएको सो विधेयक राष्ट्रपतिलाई प्रमाणीकरणका लागि सिफारिस गरिएको भन्ने प्रधानमन्त्री दाहालको अभिव्यक्ति संविधान, कानुन र लोकतन्त्रको पनि भावनाविपरीत रहेकाले त्यसप्रति आफूहरुको आपत्ति रहेको उनले बताए।

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा सांसद पन्तले सो विधेयक तत्काल संसदमा ल्याएर पारित गराउनुपर्ने उल्लेख गर्दै त्यसका लागि आफ्नो पार्टी तयार रहेकोसमेत बताए।

सांसद पन्तले संविधानविपरीत हुने भएकाले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि सो विधेयक संसदमा नआई प्रमाणीकरण नगर्न आग्रह गरे।

उनले भने, ‘कुनै पनि कुरालाई छिटो गर्ने नाममा असंवैधानिक काम गर्नु हुँदैन। जसरी हामीले मन्त्रिपरिषद्बाट निर्णय गरेर पुनः राष्ट्रपतिको पठाएका छौँ भनेर प्रधानमन्त्रीले त्यो विधेयकको बारेमा भन्नुभयो। त्यो अत्यन्त आपत्तिजनक छ। र, त्यो संविधानको बर्खिलापमा पनि छ।’

सांसद पन्तले गिटी, ढुंगा र बालुवा भारतमा निकासी गर्ने प्रधानमन्त्री दाहालको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए। प्रधानमन्त्री दाहालले शनिबार सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा राष्ट्रपति कार्यालयमा थन्किएर बसेको विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको बताएका थिए।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्