युवराज सफल र कुटपिट गर्ने समूहबीच सहमति

युवराज सफल। फाइल फोटो।

काठमाडौँ – युवराज सफल र उनीमाथि कुटपिट गर्ने समूहबीच सहमति भएको छ। रवि लामिछानेविरुद्ध सर्वोच्चमा मुद्दा हाल्ने युवराज सफलमाथि शनिबार नयाँ बानेश्वरमा कुटपिट भएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेविरुद्ध सर्वोच्चमा मुद्दा हालेर सांसद पद खारेज भएपछि चर्चामा आएका उनलाई विप्लव खड्कालगायतको समूहले कुटपिट गरेको थियो।

कुटपिट गर्ने खड्का १८ वर्षभन्दा कम उमेरको भएकाले आपसी समझदारीमा सहमति भएको युवराज सफलले बताएका छन्। ‘कुटपिट गर्नेमध्ये हात नै छाड्ने खड्का भाइ १८ वर्षभन्दा कम उमेरको हुनुहुँदो रहेछ। त्यसैले आपसी समझदारी भएको छ,’ उनी भन्छन्, ‘फेरि यस्तो गल्ती नगर्ने, मर्यादा कामय गर्नेलगायतका सहमति गरी कागज भएको छ।’

स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागीहरुले सफललाई जिस्काएका थिए। नागरिकता विधेयकको विरोधमा भइरहेको आन्दोलनमा सहभागी सफललाई जिस्काएपछि त्यहाँ केहीबेर तनाव भएको थियो।

सफलले आफ्नो स्वास्थ्य अवस्था हाल सामान्य रहेको बताए। सफल र खड्काबीच प्रहरी वृत्त बानेश्वरमा सहमतिको कागज भएको हो।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्