ब्यक्तिले गरेको गल्तिको दोष सिङ्गो प्रणालीलाई दिन मिल्दैनः मन्त्री शर्मा

काठमाडाैँ – सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्तीको दोष प्रणालीलाई दिइनु गलत भएको बताएकी छिन्। सामुदायिक सूचना नेटवर्क सीआईएनको १५ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले पदमा पुगेका केही व्यक्तिले गरेका गैर कानुनी कामलाई लिएर सिङ्गो गणतन्त्रलाई नै बदनाम गराउने गरिएको प्रति असहमति जनाउँदै यस्तो काम हुनुपर्ने बताइन्।

सरकार सञ्चालनका क्रममा गल्ती कमजोरी गर्नेलाई कानुन अनुसार कारबाही गर्ने अवसर पनि गणतन्त्रमा रहेको भन्दै उनले उनीहरूलाई कारबाही गर्न सबै एकै ठाउँ उभिनुपर्ने बताइन्। गणतन्त्रको विकल्प गणतन्त्र मात्र रहेको भन्दै उनले गणतन्त्र दिवस मनाउनु हिजोका राजा महाराजाको जन्म दिन मनाएको जस्तो नभएको बताइन्।

सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले सङ्घीय गणतन्त्रप्रति आमनागरिकको अपनत्व बढाउनका लागि सरकारले यस वर्ष तीन दिनसम्म गणतन्त्र दिवस भव्यताका साथ मनाउन लागेको बताइन्। मन्त्री शर्माले प्रविधिको विकासलगायत कारणले रेडियो, टेलिभिजन र छापा माध्यम कै भविष्यप्रति संशय उत्पन्न हुने गरेको भन्दै उनले आम नागरिकका समस्याको उठान गर्ने र गुणस्तरीय सामाग्री उत्पादन गर्न सके रेडियो, टेलिभिजन र छापा माध्यमको भविष्य सधैँ उज्यालो रहेको बताइन् ।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबका अध्यक्ष अर्जुन गिरीले ग्रामीण तहमा रहेका रेडियो जोगाउन आवश्यक रहेकोमा जोड दिए। उनले विपद्का बेला रेडियो समुदायको सबैभन्दा नजिकको साथी भए पनि सरकारका विभिन्न नीतिलगायत धेरै कारणले मारमा परिरहेको भन्दै सामुदायिक रेडियो बचाउन तीनै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताए। भूकम्पलगायत विपद्का बेलामा रेडियोले सचेतनाको काममा महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। विपद्लगायत दुःखका बेलामा रेडियोले आमनागरिकको भरोसा बनेको स्मरण गर्दै उनले सामुदायिक रेडियोलाई सरकारले अझै पनि चाहेको जस्तो सहयोग नगरेको गुनासो गरे। सीआईएनसँगै सामुदायिक रेडियोहरूलाई पनि ग्रामीण आवाज स्थापित गर्न सरकारका साथै सबै सरोकारवालाले साथ सहयोग गर्नुपर्ने बताए।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले पछाडि रहेका व्यक्ति वा समुदायको कुरा बाहिर ल्याउँदा नै सुशासन कायम गर्न सकिने भन्दै लुकेका कुरा बाहिर ल्याउँदा सरकार जिम्मेवार बन्ने बताए। उनले सरकार, संसद्, सरोकारवाला र सञ्चारलाई सँगै लिएर अघि बढ्न सके सामूहिक रूपमा सुशासन प्रवर्धन हुने बताउनुभयो। समुदाय स्तरमा समुदायकै आवाज पुर्याकउन रेडियोले सहयोग गर्ने भएकाले संसद् र समिति मार्फत रेडियोका कुरा सरकारसम्म पुर्यायउन सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायको मूल प्रवाहिकरणका लागि सरकारले अझै पनि प्रभावकारी कार्यक्रम ल्याउन नसकेको र ल्याएका कार्यक्रमको कार्यान्वयन हुन नसकिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै यसमा सञ्चारमाध्यमले खबरदारी गर्नुपर्ने बताए।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सीआईएनले खास गरी दूर दराजको समुदायलाई सूचना र सञ्चारको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेकोमा धन्यवाद दिँदै आयोग र सीआईएनबिच सहकार्य गरेर अघि बढ्न सकिने बताए।
वरिष्ठ अधिवक्ता एवम् संविधानविद् डा‍। चन्द्रकान्त ज्ञवालीले छापाखाना वा सूचना सञ्चार माध्यमले पनि व्यक्तिको गोपनीयताको हकको ख्याल गर्दै सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो। उनले पछिल्लो समय भाइरल हुने नाममा अनावश्यक सामग्री पनि प्रसारण र प्रकाशन हुने क्रम बढेको भन्दै व्यक्तिको गोपनीयताको ख्याल गर्न सुझाव दिनुभयो। उनले संस्थागत विकासको लागि एकजुट हुन आग्रह पनि गरे।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले अप्ठ्यारो बेलामा रेडियोबाट आउने सामग्री औषधिको रूपमा आउने भएकाले औषधि जोगाउन आवश्यक रहेको बताउनुभयो। सङ्कटको साथी रेडियो भएकाले यसको व्यवस्थापनमा जुट्न सबैसँग आग्रह गरे। राज्य सबै क्षेत्रको अभिभावक हुनुपर्नेमा जोड दिँदै उनले रेडियोलाई दिगो रूपमा टिकाउन राज्यले सहयोग गर्नुपर्ने बताए।
अकोराबका पूर्वअध्यक्ष मीनबहादुर शाहीले १९ वटा रेडियो आबद्ध भएर सुरु गरेको सीआईएन दक्षिण एसियाकै सबैभन्दा ठूलो रेडियो नेटवर्क बन्न सकेको र समुदायको आवाज मुखरित गर्न सफल भएकोमा प्रशंसा गर्दै पहरेदारको भूमिकामा सधैँ खटिइरहन सुझाव दिए।

सीआईएनको उपलब्धि र वार्षिक गतिविधि प्रस्तुत गर्दै सीआईएनका म्यानेजर दीपक आचार्यले भविष्यमा आइपर्ने सबै खाले चुनौतीको सामना गर्दै समुदायको सञ्चारको अधिकारका पक्षमा काम गर्ने बताए।

सीआईएनलाई सूचना र विज्ञतामार्फत सहयोग गर्ने वरिष्ठ अधिवक्ता एवम् संविधानविद् डा। चन्द्रकान्त ज्ञवाली, काठमाडौँ विश्वविद्यालयका सह९प्राध्यापक डा‍. सुधांशु दाहाल, शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्मा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रकाशकुमार सन्जेल, पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत तथा सूचना अधिकारी डा. चन्द्र ढकाल मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर र राष्ट्रिय महिला आयोगका उपसचिव एव प्रवक्ता चमिला भट्टराईलाई पनि प्रशंसा–पत्र प्रदान गरिएको थियो।

तीन जना उत्कृष्ट सीआईएनकर्मी पुरस्कृत

१५ औँ स्थापना दिवसको अवसरमा सीआईएनकर्मी सुनिल राजभारत, रेडियो खुला आकाश जुम्लाका मानबहादुर कुँवर र रेडियो मध्यपश्चिम दाङका सुशिला ओली उत्कृष्ट पत्रकार पुरस्कारबाट सम्मानित भएका छन्। तीनै जनालाई कार्यक्रमका मुख्य अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनही नगद १५ हजार पुरस्कारसहित सम्मान गरेकी हुन्।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्