थ्रीस्टारलाई हराउँदै मनाङले ७ जितविहीन यात्राको अन्त्य गर्दा, एनआरटीसँग सातदोबाटो पराजित

काठमाडाैँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले लगातार सात खेलको जितविहीन यात्राको अन्त्य गरेको छ। एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा मनाङले चिरपरिचित प्रतिद्वन्दी थ्रीस्टार क्लबलाई १–० ले पराजित गर्दै महत्वपूर्ण तीन अङ्क हासिल गर्दा च्यासल मैदानमा एनआरटीले सातदोबाटोलाई पराजित गर्‍याे।

मनाङको जितमा चेतन कुमार थारुले गरेको एकमात्र गोल निर्णायक गोल गरे। चेतनले खेलको ३८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। जारी लिगमा मनाङको यो छैटौं जित हो। मनाङले २२ खेलमा २८ अंक जोडेको छ। जितसँगै मनाङ दशौँ स्थानमा उक्लिएको छ। थ्री स्टारले २२ खेलमा २६ अंक जोडेको छ। थ्री स्टार ११ औं स्थानमा छ।

आइतबारनै च्यासल मैदानमा भएको खेलमा एनआरटीले सातदोबाटो युथ क्लबलाई २(१ गोल अन्तरले पराजित गर्यो। एनआरटीका लागि निकोलस सङ र सनम लिम्बुले समान एक(एक गोल गरे। एनआरटीका शिव सुवेदीले एक गोल फर्काएका थिए।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ६३ औं मिनेटमा निकोलसले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ६७ औं मिनेटमा सनमले गोल गर्दै एनआरटीलाई २–० को अग्रता दिलाए। खेलको ७७ औं मिनेटमा सातदोबाटोका शिवले गोल गरे पनि टिमको हार टार्नका लागि पर्याप्त भएन।

एनआरटीको यो जारी लिगमा सातौं जित हो। एनआरटी २२ खेलमा २९ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ। सातदोबाटो २२ खेलमा २९ अंक जोडेर छैटौं स्थानमा छ।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्