लेफ्ट–राइटको आवरण सार्वजनिक

काठमाडाैँ – साङ्ग्रिला बुक्सले पत्रकार नेत्र पन्थीको पुस्तक लेफ्ट–राइट : सत्ता र शक्तिको ‘अ’राजनीति जेठ तेस्रो साता बजारमा ल्याउने भएको छ। आइतबार पुस्तकको कभर सार्वजनिक गर्दै तेस्रो साता डिजिटल विमोचनसहित पुस्तक बजारमा पुर्‍याउने साङ्ग्रिला बुक्सको तयारी रहेको छ। साथै, आइतबारबाट नै पुस्तकको अग्रिम बुकिङ पनि खुला गरिएको छ।

पत्रकार पन्थीले आफ्नो लामो पत्रकारिताको अनुभव र अध्ययनबाट तयार पार्नुभएको यस पुस्तकमा नैतिक र अनैतिकको लक्ष्मणरेखा मेटिएको नेपाली राजनीतिको अन्तरकथा खोतल्ने प्रयास गरेका छन्। पुस्तकमा कहिले दायाँ र कहिले बायाँतिर मोडिने नेपाली राजनीतिक नेतृत्वको दुर्भाग्यपूर्ण कटु सत्य उजागरको प्रयास गरिएको छ।

लेखक पन्थीका अनुसार पुस्तकमा शक्ति र सत्ताका लागि भएका नाजायज कसरत, षड्यन्त्रै–षड्यन्त्र, धोकै–धोका, अन्तर्पार्टी संघर्ष र भूराजनीतिक टकरावलाई उठान गरिएको छ। पद प्राप्तिका प्रमुख दलका शीर्ष नेताहरूले नीति, नियम, नैतिकता, मूल्य–मान्यता, सिद्धान्त, सवाल, व्यवस्था, विधि–विधान, संविधान र प्रावधान सबैको नजरअन्दाज गर्ने गरेका कैयौँ उदाहरण र सन्दर्भ पुस्तकमा समेटिएको लेखक पन्थीको भनाइ छ।

पन्थीका यसअघि डिभोर्स : प्रचण्ड र बाबुरामको (२०७२), माओवादीभित्र अन्तरसङ्घर्ष (२०६९) र युद्धमा प्रेम र यौन (२०६६) नामक पुस्तक प्रकाशित छन्।

जेठ १४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्