दुवै खुट्टाबिनै सगरमाथा आरोहण गरेका बुढामगर भन्छन्- दुख वा सुख तपाईँकै ‘च्वाइस’ हो (भिडियो)

हिउँले डढेको अनुहारमा उनको मन्द मुस्कानले जेठ १० गतेको साँझ उज्यालो भयो। भेट्ने भनिएभन्दा केही समय ढिलो भए पनि उनको मिजास निकै सरल थियो, जसले विश्वका सर्वोच्च शिखर सगरमाथा कठिन शारीरिक अवस्थाका बाबजुद हालै आरोहण गरेका थिए, उनी अर्थात् हरि बुढा मगर।

सगरमाथाको सफल आरोहण गरेर उनी जेठ ९ गते काठमाडौं फर्किएका थिए। मगर रोल्पाका ४३ वर्षीय मगर पूर्वबेलायती सैनिक हुन्, जसले सन् २०१० मा अफगानिस्तानमा तालिवान विद्रोहीसँगको लडाइँमा दुवै खुट्टाको घुँडामुनिको भाग गुमाएका थिए।

उनले कृत्रिम खुट्टाको भरमा गत जेठ ५ गते उनले ‘टप अफ दि वर्ल्ड’का रूपमा चिनिएको सगरमाथाको सफल आरोहण गरे।

यससँगै उनको नाममा तीन कीर्तिमान लेखिएको छ, कृत्रिम खुट्टाको सहायताले सगरमाथा आधार शिविर पुग्ने, सगरमाथामाथि स्काई डाइभ गर्ने र दुई खुट्टाबिनै सगरमाथा आरोहण गर्ने।

हिमाल चढेर फर्किएका उनले आफ्नो जन्मथलो सम्झिए, ‘रोल्पा नभएको भए म यहाँ हुने नै थिइनँ।’

त्यसपछि बेलायती सैनिकका रूपमा अफगानिस्तान युद्धमा खटिँदाको समय उनले स्मरण गरे, ‘त्यो मेरो जीवनको टर्निङ प्वाइन्ट थियो।’

हरि बुढामगर।

सगरमाथा आरोहणका लागि उनले पाँच वर्षअघि सन् २०१८ मै तयारी गरेका थिए। त्यसकै लागि भनेर उनी नेपाल आएका थिए। तर, सरकारले २०१७ डिसेम्बरमा दुईवटै आँखा नदेख्ने र दुवै खुट्टा नहुनेलाई सगरमाथा आरोहणमा प्रतिबन्ध लगाएको थियो।

यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्‍यो। सर्वाेच्चले सबैलाई सगरमाथा आरोहणका लागि अनुमति दिन आदेश दियो। तर २०१९ को अन्त्यमा कोरोना भाइरसको महामारी सुरु भयो। यसकारण सगरमाथा आरोहणका लागि उनले आवश्यक रकम संकलन गर्न सकेनन्।

कतिले उनको अवस्था देखेर अर्थात् दुवै खुट्टा नभएको अवस्थामा सफल आरोहण गर्न सक्छ कि नाइँ भनेर पनि स्पोन्सर नगरेको उनले बताए। ‘मलाई आवश्यक रकम जुटाउन निकै गाह्रो परेको थियो।’

तर, २०२२ यता संक्रमण कम हुन थाल्यो, हरिले देखेको सपनामा साथ दिनेको संख्या पनि बढ्न थाल्यो। उनी आवश्यक पर्ने रकम तथा सामग्री जम्मा गर्न सफल भए। वर्षौँदेखि बोकेको उनको एउटा सपना २०२३ मे १९ अर्थात् २०८० जेठ ५ गते पूरा भयो।

दुबै खुट्टा गुमाएका सगरमाथा आरोही हरि बुढामगर आफ्ना भाइसँग, जसले उनीसँगै सगरमाथा आरोहण गरेका थिए।

पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला टेक्दै गर्दा आफूले इतिहास रच्दै छु भन्ने सोचका साथ आँखाबाट आँसु आएको उनले बताए।
‘साह्रै चिसोका कारण त्यो खुसीको आँसु लगाएको चस्माभित्रै फ्रिज भयो’, उनले थपे, ‘मैले शेर्पाहरूलाई अँगालो हालेर भक्कानो हालेर रोएँ। उनीहरूले सुने कि नाइँ किनकि हामीले मास्क लगाएका थियाैँ। तर, म भने खुलेर रोएँ।’ शिखरमा रहँदा धेरै तस्बिर लिन नपाएको उनले बताए। त्यसको कारण थियो क्यामेराले काम नगर्नु।

‘दुई वटा गोप्रोमध्ये एकमा थोरै ब्याट्री रहेछ। त्यसबाट केही फोटो र सानो भिडियो खिच्न सक्यौँ’, उनले भने।

भिडियो हेर्नुहोस्:

आरोहणको समयमा आफू र अरू फरक छन् भन्नेमा खासै ध्यान नदिएको उनले बताए।

‘मैले चुचुरो चुम्ने सपनामा बढी ध्यान दिएँ। तर, मेरो आरोहणको समयमा २ जनाको मृत्यु भएको रहेछ लासलाई तानेर ल्याइँदै थियो। आफ्नो लास यस्तो गर्न नपरोस् भन्ने लागेको थियो’, उनले सुनाए।

आरोण सकेर आधार शिविर फर्किएपछि उनलाई आफूले तय गरेको बाटो अविश्वसनीय लागेको थियो। ‘आधार शिविरबाट खुम्बु ग्ल्यासियरतर्फ हेर्दा ‘अनरियल’जस्तो लाग्यो’, उनले भने।

सगरमाथा आरोही हरि बुढामगर।

आरोहण पूर्व १८ दिन बिताउँदा त्यत्रो हिमाल कसरी चढ्ने होला भन्ने लागेको रहेछ, फर्केर आई हेर्दा सकिने रहेछ नि तर कसरी भयो होला भन्ने जस्तो लागेको उनले बताए।

उनले फेरि आरोहणको तयारीको सुरुवाती समय सम्झिए। पहिले त सहयोग गर्नेहरू कम देखिए, उनले सेनाबाट क्षतिपूर्तिस्वरूप पाएको रकम नै प्रयोग गर्ने योजना श्रीमतीलाई सुनाए, त्यो उचित विकल्प पनि थिएन। अरू हिमाल चढेपछि विस्तारै सहयोग आउन थाल्यो। तर, कम्पनीहरू ‘स्पोन्सर’ गर्न हिचकिचाइरहेका थिए।

‘उहाँहरूलाई म मर्छु, हाम्रो स्पोन्सर खेर जान्छ भन्ने सोच आयो होला,’ उनले भने, ‘कतिले मलाई व्यक्तिगत पनि सहयोग गर्नुभएको छ। जसमध्ये कतिलाई व्यक्तिगत म चिन्दिनँ। तर, उहाँहरूप्रति म सधैँ आभारी रहनेछु।’

प्रधानमन्त्री कार्यालय जाँदै बुढामगर।

उनीसँग बिमा कम्पनीले जीवन बिमा गर्न नमानेको नमिठो अनुभव पनि छ। ‘उहाँहरूलाई पनि म मर्छु जस्तो लाग्यो होला’, उनले भने।

सगरमाथाको सफल आरोहणपछि श्रीमतीसँग कुरा गर्दा  बल्ल आनन्दले निदाएको भनेको उनले खुसी हुँदै सम्झिए।

हाँस्दै उनले भने, ‘हामीलाई धेरै दुःख दिनुभयो अब नदिनू भनेकी छन्। उनी श्रीमती हुन् पक्कै पनि उनलाई चिन्ता त हुने नै भयो। अहिले भने रिलिफ भएको छ उनलाई।’

आरोहणमा जानुअगाडि छोराको अनुहारमा जुन डर देखिएको थियो, अहिले त्यो हराएर खुसीको भाव देखेको उनले बताए।

माओवादी सशस्त्र युद्धको उद्गम थलोका रूपमा चिनिएको रोल्पाका बुढामगरलाई युद्धको क्रममा अपांग भएकाहरूसँग पनि आफ्नोबारे सोच्ने र निर्णय गर्ने स्वतन्त्रता रहेको बताए।

अरूले गर्लान्‌भन्दा पनि आफैँले अग्रसरता लिनुपर्ने उनले बताए।

सगरमाथाको सफल आरोहणपछि काठमाडौँमा राष्ट्रपतिले पठाएको सम्मान तथा बधाईपत्रका साथमा हरि बुढामगर।

‘नेताले केही गरिदिन्छन्, अरूले केही गर्लान् भन्ने भन्दा पनि आफ्नो इच्छाशक्ति बलियो बनाउन कोशिश गर्नुपर्ने हुन्छ,’ उनले भने।

आफूलाई पनि पहिले अपांगता भएपछि धर्तीको बोझ नै भएँ कि भन्ने सोचसम्म आउने गरेको उनले सुनाए। ‘कुनै समय सुसाइडको लागि निस्किएको थिएँ,’ उनले सम्झिए।

‘जब मेरो मन, दिमाग स्पोर्टतिर लाग्यो, मेरो आत्मबल, इच्छाशक्तिले फरक रुप लियो’, उनले भने, ‘मैले आफ्नो सपनामध्यको एक पूरा गर्न सकेँ।’

सगरमाथाको सफल आरोहण गर्नुपूर्व बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरा पिक दुई पटक (६,४७६ मिटर) लगायत आरोहण गरिसकेका थिए।

हरि बुढामगर आफ्ना बुवा र आरोहण टीमसँग।

आरोहणका क्रममा उनले जलवायु परिवर्तनको असर महसुस गरेको उनी बताउँछन्। उनले भने, ‘२०१७ मा मैले ‘मेरा पिक’ चढेको थिएँ। अहिले पनि चढेँ तर त्यहाँ ठुल्ठूलो आइस छ जुन पहिला जाँदाभन्दा अहिले २० मिटरजति पग्लेको छ।’

उनले थपे, ‘सगरमाथा बेस क्याम्पमा पनि हाम्रो टेन्ट राखेको ठाउँको साइडको भाग एक महिनामा २ मिटर पग्लिन्छ भने त्यो कति पग्लिरहेको छ भन्ने त हामीले विचार गर्न सक्छौँ।’

हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव र त्यसलाई न्यूनीकरण तथा अनुकूलन प्रयासका लागि काम गर्ने आफ्नो योजना रहेको उनले सुनाए।

सगरमाथा आरोहण गरेर फर्किएपछि त्रिभुवन विमानस्थलमा हरि बुढामगर।

‘साथै विश्व शान्तिका लागि पनि काम गर्ने मेरो योजना छ। यो किन जरुरी छ भने मैले केही लडाइँ हेरेँ यसले कसैलाई पनि फाइदा छैन,’ उनले भने, ‘केही नेता अथवा केही व्यक्तिलाई फाइदा होला तर जनरल रूपमा यसले कसैलाई फाइदा गर्दैन र कसैले पनि लडाइँ चाहँदैन।’

हिजो दुस्मनजस्तो गर्ने माओवादी र कांग्रेस अहिले सँगै मिलेर सरकारमा रहेको उदाहरण दिँदै उनले सबै कुरा सम्भव हुने र युद्धले फाइदा नगर्ने बताए।

रिद्धि लाउन्जका सेभहरुसँग हरि बुढामगर।

हिजोका दुस्मन अमेरिका र जापान अहिले सहकार्य गरिरहेका छन्। ‘हिजोको दुस्मन पनि साथी हुन सक्छन्। हामी सबै साथी हुन सक्छौँ र संसारमा शान्ति राख्न सक्छौँ,’ उनले भने।

अपांगता भएकाहरूका लागि आफूले जीवनभरि नै काम गर्ने पनि उनले बताए। एक पटक ह्विलचेयर वा अरु सामग्री दिएर भन्दा काम गर्ने वातावरण बनाउनुपर्ने र त्यसका लागि आफूले वकालत गर्ने उनले उल्लेख गरे।

कामको वातावरण बनाएर कर तिर्न सक्ने बनाएर सरकारलाई नै फाइदा हुने उनले बताए। ‘मैले कृत्रिम खुट्टाको सहाराले सगरमाथा आरोहण गरेँ। यसको पनि त सामान कस्तो छ भन्ने ट्रायल भयो नि! त्यसैले पनि इच्छाशक्तिका साथ आत्मबल र सकारात्मक सोच हरेक मानिसको जीवनमा आवश्यक छ,’ उनले अनुहारमा मुस्कान भर्दै भने।

सगरमाथा आरोहण गरेर फर्किएपछि त्रिभुवन विमानस्थलमा बुढामगर।
जेठ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्