नेपाली मूलकी किशोरीले ल्याइन् ‘द डार्क सेक्रेट्स अफ अन्नेम’

काठमाडौँ-बेलायतको चर्चित प्रकाशक अष्टिन म्याक्कले पब्लिसर्सले नेपाली मुलकी श्रीयन्सी ज्ञवालीको पुस्तक ‘द डार्क सेक्रेट्स अफ अन्नेम’ बजारमा ल्याएको छ।

अंग्रेजी साहित्यमा निक्कै लोकप्रिय ‘टिन फेन्टासी’ विधाको पुस्तकलाई प्रकाशकले १५ वर्षदेखि १७ उमेर समूहलाई लक्षित भनेको छ।

तथापि पुस्तकको कथाबस्तुले अन्य उमेर समूहकालाई पनि तान्ने प्रकाशकको दावी छ ।

‘द डार्क सेक्रेट्स अफ अन्नेम’ले सानैमा अभिभावक गुमाएर अनाथालयमा हुर्किएकी एक किशोरीको कथा भन्छ, जो हुर्कदै गर्दा उनको पहिचानको जोखी र उनी बाचेको क्रुर यथार्थसँग संघर्ष गर्न बाध्य हुन्छिन्।

पुस्तककी लेखिका आफै किशोरी हुन् । नेपालको भैरहवामा जन्मिएकी लेखिका सन् २०११ (विस २०६८) मा उनको परिवारसँगै क्यानडा सरेकी थिइन् ।

त्यस समय उनी २२ महिनाको मात्र थिईन् । हाल क्यानडाको ओन्टारियो प्रोभिन्सको ब्रम्प्टनमा बस्ने ज्ञवालीलाई सानैदेखिको साहित्य लेखनको रुचि रहेकोमा अभिभावक र शिक्षकको प्रेरणाले पुस्तक लेख्न थालेकी थिइन् ।

यो उपन्यास श्रयन्शीको पहिलो प्रकाशित पुस्तक हो । २४० पृष्ठको पुस्तक मे २६ मा बजारमा आएको हो र यसलाई अनलाईन साईट ‘अमेजन’बाट संसारभरबाट किन्न सकिन्छ ।

जेठ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्