‘राजदरबार जनताको भयो, गणतन्त्रको उपहार स्वरुप’

‍दरबारमा जनताको पाइला, चोठाकोठा पस्ने कहिले?

पोखरा – अग्लो पर्खाल, उस्तै अग्ला रुखले ढाकिएको छ, पोखरा लेकसाइडस्थित रत्नमन्दिर। फेवाताल किनारको रत्न मन्दिर छिर्नु त कसरी बाहिरबाट राम्ररी हेर्नसमेत मुस्किल थियो। कस्तो होला ? बाहिरबाट चिहाउनेलाई भित्र छिरेर हेर्ने उत्सुकता जाग्थ्यो। तर, गणतन्त्र आइसक्दा पनि यो रहस्यकै केन्द्रमा थियो।

लेकसाइडका हरि आचार्यलाई पनि यहाँको रहस्य जान्न रत्न मन्दिर छिर्ने धोको थियो। घर छेउको दरबार छिर्न त्यति सम्भव थिएन।

सोमबार उनी दरबार परिसर छिरे। उनले कल्पना गरेको भन्दा फरक देखियो रत्न मन्दिर। ‘मैले भित्र एकदमै विशाल दरबार, एकदमै राम्रो। केही। नरायाणहिटी दरबारजस्तो होला भन्ठानेको थिएँ। तर, भित्र छिर्न त पाएनौँ राम्रै छ’, उनले भने।

तत्कालीन राजा महेन्द्र शाहले पोखरा फेवा किनारमा टहलिन २०१५ सालमा आफ्नी रानीको नाममा बनाएको रत्न मन्दिरमा सर्वसाधारण छिर्न पाउने कुरै भएन। ३ वर्षमा निर्माण पूरा भएको बंगला राजतन्त्रमा पहुँचको भरमा राजाले इच्छाएका व्यक्तिमात्र छिर्न पाउँथे। रत्न मन्दिर गणतन्त्र आएपछि पनि जनताको बनेन।

०६२/६३ को जनआन्दोलनले राजा फालेर गणतन्त्र ल्याएपछि नारायणहिटी राजदरबार बरु जनताको बन्यो तर रत्न मन्दिर केबल चर्चाको केन्द्रमात्र बन्यो। गणतन्त्र आएको १५ वर्षपछि बल्ल रत्न मन्दिरमा नागरिकले छिर्न पाएका छन्। सोमबार गणतन्त्र दिवसको दिन खुला गरिएपछि बल्ल सर्वसाधारणले पाइला टेक्न पाए।

नेपाल ट्रस्टका अध्यक्षसमेत रहेका पर्यटनमन्त्री सुदन किराँतीले सर्वसाधारणका लागि रत्न मन्दिरको प्रवेशद्वार खुला गराए र भने ‘यो राजदरबार अब जनताको भयो, गणतन्त्रको उपहार स्वरुप।’

पोखरेलीको चाहना पूरा गर्दै रत्न मन्दिर खुलाएको उनले बताए। रत्न मन्दिर इतिहास भएकाले जोगाउनुपर्ने मन्त्री किराँतीको भनाइ छ। ‘यो हाम्रो इतिहास हो। इतिहासको विषय भइसकेको छ। र यसलाई एउटा महत्वपूर्ण गन्तव्यको रुपमा विकास गर्नुपर्छ’, उनले भने। उनले पोखरा आउने पाहुनलाई आधा दिन अलमलाउने बाटो सिर्जना भएको जिकिर गरे।

१७४ रोपनी क्षेत्रफलमा रत्न मन्दिर र हिमागृह फैलिएको छ। हाललाई रत्न मन्दिर परिसर मात्रै सर्वसाधारणका लागि खुलेको हो। रत्न मन्दिर अर्थात दरबारभित्र अझै पनि सर्वसधारण पस्न पाउने छैनन्। दरबारको कोठाचोठा कहिले डुल्ने चाहना भएपछि मात्र बाहिरबाटै दरबार हेर्नेछन्, परिसर घुम्नेछन्। हिमागृह पनि क्रमशः खोल्ने पर्यटनमन्त्री किराँतीको दाबी छ, तर टुंगो छैन।

तत्कालीन राजारानीले प्रयोग गर्ने सामग्री, सुत्ने कोठा हेर्न नपाए पनि परिसर मात्र टेक्न पाउँदा पोखरेली दंग छन्। किनकि वर्षौदेखि खुल्ने चर्चा भएपनि गफमै सीमित थिए। रत्न मन्दिर परिसर प्रवेश गर्ने नागरिकले कल्पनाभन्दा फरक अनुभूत गरे। दरबारभित्र पस्ने उत्सुकता भने जगाएको छ।

पुम्दीकोटबाट रत्न मन्दिर नियालिरहने नरनाथ बराल सोमबार बिहानै आए। टाढाबाट नियालेका उनले रत्नमन्दिरलाई पृष्ठभूमिमा राखेको तस्विर खिचाए। गणतन्त्रको आएको १५ वर्षपछि पनि जनताले दरबारको दैलो टेक्न पाउनुलाई सकरात्मक लिएका छन्। भन्छन्, ‘मुख्य रत्न मन्दिरको भवन खुलेन। त्यहाँभित्र के छ भन्ने फेरि कौतहुलता जाग्यो।’

दरबारभित्र के छ भनेर हेर्न आतुर भएको उनले बताए। रत्न मन्दिर परिसरमा पूर्वाधार थपेर गन्तव्य बनाउनुपर्ने उनको भनाइ छ। न्युरोडकी पवित्रा केसीले प्रवेशद्वार खुलेर रत्न मन्दिर छिरेपछि दरबारभित्र के होला भनेर झन जिज्ञासा जागेको बताइन्

‘मैले सोचेको भन्दा धेरै फरक पाए। पहिला यो भित्र के छ होला रु यो साँघुरोमा छ होलाजस्तो मेरो कल्पना थियो’, उनले भनिन्, ‘यहाँ आएपछि धेरै फराकिलो र हेर्न लायक रहेछ।’

उनले अगाडि थपिन्, ‘रत्न मन्दिर (दरबार)भित्र के होला भनेर अझै कौतुहलता जागेको छ। छिट्टै निकट भविष्यमा भित्रको पनि हेर्न पाउने छौँ भन्ने अपेक्षा छ।’

रत्न मन्दिरमा राजदरबार, फेवातालसँगै जोडिएका तालघर, बागबगैंचालगायत संरचना छन्। दरबारमा राजा, रानी, युवराज, युवराज्ञीका छुट्टाछुट्टै कोठा र प्रयोग गर्ने सरसामान छन्। तालघरबाट फेवाताल, रानीवन र विश्व शान्ति स्तुपको मनमोहक दृश्य देखिन्छ।

रत्न मन्दिर यसअगाडि निजी क्षेत्रलाई ठेक्कामा दिने तयारी थियो। पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले टेण्डर पाए पनि पोखरेलीको चर्को विरोधले सरकार पछि हट्न बाध्य बन्यो। फलस्वरुप आज रत्न मन्दिर परिसर त खुल्यो तर सरकारले फेरि कतै निजी क्षेत्रलाई सुम्पिने त हैन? पोखरेलीको चिन्ता कायमै छ।

पोखराका पर्यटन व्यवसायी टिकाराम सापकोटा व्यपारीकरण गर्न नहुने तर्क राख्छन्। सम्पदालाई सम्पत्तिको रुपमा लिनुपर्ने उनको सुझाव छ। ‘यसलाई व्यापरिकरण गर्नु हुँदैन। भाडामा दिएर अर्थात निजीकरण गरेर अगाडि बढाउनु हुँदैन। त्यसो गर्दा सम्पदा नष्ट हुन्छ’, उनले भने, ‘सम्पदा भनेका गहना हुन्। गहनालाई भाडामा दिएर त्यसको महत्व हुँदैन।’

नागरिक अभियान्ता रामबहादुर पौडेल व्यावसायिक प्रायोजनका लागि ठेक्कामा लगाए आन्दोलनमा उत्रने चेतावनी दिन्छन्। ‘यहाँ चिया कफीको कुरामा ठेक्का पट्टा भयोे भने हाम्रो कडाइको साथ आन्दोलन हुनेछ’, उनले भने। पर्यटकलाई भार नपर्ने गरेर टिकट शुल्क लिनुपर्ने उनको तर्क छ।

नेपाल ट्रस्ट बोर्डले टिकट शुल्क तोकेको छ। सोमबार उद्घाटनको अवसरमा निःशुल्क हेर्न पाएका छन्। नेपाली पर्यटकले एक सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्छ। विद्यार्थी, ज्येष्ठ नागरिक, अपांग र अशक्तका लागि ५० रुपैयाँ र विदेशी पर्यटकलाई एक हजार रुपैयाँ तोकिएको छ।

२०६४ साल असोज २१ गतेको मन्त्रिपरिषद्को निर्णयले रत्न मन्दिरलाई नेपाल ट्रष्टको मातहत ल्याउने निर्णय गरेर २०६७ पुस २० गते ट्रस्ट मातहातमा आएको हो। रक्षा, गृह हुँदै पर्यटन मन्त्रालय मातहत आएपछि खुला भएको रत्न मन्दिरको नेपाली र विदेशीका लागि फरक–फरक शुल्क तोकिने भएको छ। तर, दरबारभित्र छिर्न नपाउने, भित्र कुनै गतिविधि पनि नहुने हो भने रत्न मन्दिर शुल्क असुल्ने थलोमात्रै बन्ने हो कि भन्ने चिन्ता पनि नागरिकस्तरबाट उठिरहेको छ।

रत्न मन्दिरको प्रवेशद्वार खुलेपछि आम सर्वसाधारणमा झन् कौतहुलता बढेको, दरबारभित्र के होला? कस्तो होला? दरबार र हिमागृह हेर्ने सर्वसाधारणको धोको पूरा होला या चर्चामै सीमित हुने हो, त्यो भने समयले बताउने छ।

जेठ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्