धनगढी – टीकापुर घटनामा सर्वोच्च अदालतले दोषी ठहर गरे पनि राष्ट्रपतिबाट आममाफी पाएका रेशम चौधरी झण्डै ८ वर्षपछि गृहनगर कैलालीको टीकापुर पुगेका छन्। २०७२ साल भदौ ७ गते टीकापुर घटनापछि केही समय फरार र पछि कारागारमा बसेका रेशम ८ वर्षपछि गृहनगर पुगेका हुन्।

सोमबार गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए। जेलबाट रिहा भएपछि नेपालगंज हुँदै उनी सोमबार बेलुका टीकापुर पुगेका हुन्। नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशमलाई नेपालगंज एयरपोर्ट ओर्लिएलगत्तै समर्थकहरुले स्वागत गरेका थिए।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहेकी पत्नी रन्जिता श्रेष्ठसहित गृहनगर पुग्दा रेशमको भव्य स्वागत गरिएको छ। उनका समर्थकले गृहनगरमा रेशमका पक्षमा नाराबाजी गर्दै बाजागाजासहित स्वागत गरेका हुन्।

गृहनगर पुगेपछि समर्थकलाई धन्यवाद दिने क्रममा रेशमले आफ्नो न्यायको आन्दोलन अझै नसकिएको प्रतिक्रिया दिए। समर्थकलाई धन्यवाद दिने क्रममा उनले टीकापुर घटनामा मुछिएर कारागार जीवन व्यतित गरिरहेका अन्य थारु नागरिकको रिहाइका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। उनी समर्थकसँगै टीकापुरमा रहेको नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालय पुगेर आफ्नो घर गएका छन्। घर गएर उनले आफ्नी आमालाई भेटे।

रेशम चौधरी मंगलबार धनगढी पुगेर कैलाली कारागारमा रहेका टीकापुर घटनाका कैदीलाई भेट्ने कार्यक्रम रहेको उक्त पार्टीले जनाएको छ।
२०७२ भदौ ७ गते टीकापुरमा थरूहट आन्दोलन चर्किँदा कैलालीमा भएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि भीडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिदिएको थियो।

सो घटनामा एक बालकको पनि ज्यान गएको थियो। उच्च अदालतले यसअघि फैसला सुनाउने क्रममा टीकापुर घटना क्रुर, निर्मम र मानवताविरोधी भएको ठहर गरेको थियो। घटनामा संलग्न भएको अभियोगमा दुई दर्जनभन्दा बढी व्यक्तिविरुद्ध कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योगलगायतका मुद्दा चलाइएको थियो।

थरूहट आन्दोलन चर्किँदा रेशम चौधरी कैलालीमा फूलवारी एफएम स्टेशन र रिसोर्ट चलाउँथे। टीकापुर काण्डमा नाम मुछिएपछि उनी केही समय भूमिगत भए। सो घटनामा मुख्य योजनाकार भएको अभियोग खेपेका चौधरीलाई पछि पक्राउ गरेर पुर्पक्षका लागि कारागारमा राखियो। २०७४ सालमा सम्पन्न संसदीय निर्वाचनमा रेशम चौधरी राष्ट्रिय जनता पार्टीबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय सांसदको उम्मेदवार बनेका थिए। उनी उक्त निर्वाचनमा भारी मतान्तरले विजयीसमेत भएका थिए।

सांसद निर्वाचित भएपछि उनले कारागारबाटै गएर शपथग्रहण गरेका थिए। गत मङ्सिरमा भएको निर्वाचनमा उनी नवगठित नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया–२ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका थिए। फौजदारी कसुरमा जेल परेको हुनाले चौधरीको उम्मेदवारी बदर भयो।

तर सोही निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका उनका बुवालाई पार्टीले आफ्नो उम्मेदवारका रूपमा अघि सार्‍यो र उनी विजयी भए।
जेलमा हुँदा नै चौधरीले नागरिक उन्मुक्ति पार्टी स्थापना गरेका थिए। पहिलो पटक निर्वाचनमा सहभागी भएको नागरिक उन्मुक्ति पार्टीले संघीय संसद्मा चार सिट जितेको छ भने प्रदेशतर्फ सुदूरपश्चिममा सात सिट, लुम्बिनीमा चार सिट र मधेसमा एक सिट जितेको छ।

जेठ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्