चेल्सीको मुख्य प्रशिक्षकमा पोचेटिनो नियुक्त

नयाँ सिजनका लागि इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले मौरिसियो पोचेटिनोलाई मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको छ। पूर्व पिएसजी तथा टोटेनह्यामका प्रशिक्षक पोचेटिनोलाई अब चेल्सीलाई बलियो लयमा सिजन सुरुवात गराउनु पर्ने चुनौती रहेको छ।

चेल्सी हालै सकिएको सिजनमा १२ औँ स्थानमा रहेको थियो। यो सिजनको अन्तिम समयमा फ्रान्क लाम्पार्डले चेल्सीको अन्तरिम प्रशिक्षकको रुपमा काम गरेपनि उनले टिमलाई अङ्क तालिकामा बलियो अवस्थामा पुर्‍याउन सकेनन्। मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेपछि चेल्सीले लाम्पार्डलाई केयरटेकरको जिम्मेवारी दिएको थियो।

अर्जेन्टिनाका ५१ वर्षीय पोचेटिनोले १ जुलाई २०२३ बाट क्लब समाल्ने छन्। उनले क्लबमा २ वर्षका लागि सम्झौता गरेका छन्। त्यसपछि पनि उनलाई क्लबले सम्झौता लम्ब्याउन सक्ने विकल्प कायम राखेको छ। अन्तरिम प्रशिक्षक लाम्पार्डले चेल्सीलाई १२ औँ स्थानमा सिजन अन्त्य गराएका थिए, जुन चेल्सीको पछिल्लो २५ वर्षमा सर्वाधिक खराब पोजिसन हो।

क्लबले आफ्नो वक्तव्यमा भनेको छ ‘मौरिसियो एक विश्वप्रसिद्ध प्रशिक्षक हुन्। उनको अविश्वसनीय ट्र्याक रेकर्ड रहेको छ। हामी उनलाई पाएर थप राम्रो अवस्थामा पुग्ने विश्वास लिएका छौँ।’ क्लबले उनको अनुभवले टिमलाई बलियो बनाउने विश्वास लिएको छ।

जेठ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्