मोरङका व्यवसायी भन्छन्ः बजेट आशावादी

मोरङ – आर्थिक वर्ष २०८०/८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट आशावादी हुने गरी आएको विराटनगरका उद्योगी व्यवसायीहरुले बताएका छन्।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले बजेटले स्वदेशी उद्योगलाई संरक्षण हुने बजेट ल्याएको बताए। बजेटबारे संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष सुरानाले मुलुकमा सञ्चालित विदेशी आयोजनाहरुले नेपाली उत्पादन खरिद गर्नुपर्ने नीति सरकारले ल्याउँदा स्वदेशी उद्योगलाई सहज बताए।

उनले भने, ‘बजेट कार्यान्वयनको पाटो एक होला। तर स्वदेशी उद्योग संरक्षणमूखी बजेटका रुपमा लिन सकिन्छ। निजी क्षेत्रलाई उत्साहित बनाउने गरी बजेट आएसँगै यहाँ रहेका विदेशी आयोजनाहरुले समेत नेपाली उत्पादन खरिद गरी प्रयोग गर्नुपर्ने जनाएको छ। जुन सुखद् पक्ष हो।’

बजेटले नेपालमा निर्माणाधिन विदेशी आयोजनाहरुले नेपाली उत्पादन फलामे छड, पाइप, सिमेन्टजस्ता वस्तु प्रयोग गर्नुपर्ने उल्लेख गरेको अध्यक्ष सुरानाले जनाए। यद्यपि, विराटनगरभित्र उद्योगीले परिकल्पना गर्दै आएको प्रदर्शनीस्थलबारे सरकार पुनः मौन रहेको उनले बताए।

अहिलेको परिस्थितिमा उद्योगीहरु उत्साहित नभएको बताएका अध्यक्ष सुरानाले बजेटले समेत उद्योग कलकारखाना क्षेत्रलाई उत्साहित बनाउन कम प्रयास गरेको बताए। विराटनगर विमानस्थल स्तरोन्नति गर्ने कुरा पुरानै भएको बताएका अध्यक्ष सुरानाले सोही शीर्षकमा फेरि पनि कुरा आएको र जसलाई सकारात्मक रुपमा लिनुपर्नेब ताए। उनले स्टार्टअप प्रवर्द्धनात्मक सरकारले ध्यान दिएर १ अर्ब बढी रकम विनियोजन गर्नु सुखद भएको बताए।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जग्गा कित्ताकाँट र आयातलाई खुकुलो बनाउने सरकारको नीतिले अर्थतन्त्र चलायमान हुने बताए। यद्यपि, बैंकिङ क्षेत्रको विषयमा प्रष्ट कुरा आउन नसकेको बताएका अध्यक्ष रिजालले बैंकको नीति सम्बन्धमा केही नीति आउन सकेको हुँदा नीति क्षेत्रलाई उत्साह हुने बताए।

सरकारले औद्योगिक ग्रामको विषयमा सुनसरी र मोरङलाई नसमेट्दा उद्योगी व्यवसायीहरुले केही असहज महसुस गरेको अध्यक्ष रिजालको भनाइ छ।

अर्कोतर्फ, अर्थशास्त्री डा. अर्जुन बराल बजेट भनिएजस्तो घटेर नआएको बताउँछन्। अहिलेको अवस्थामा आर्थिक वृद्धिदर खुम्चिएको बताएका डा. बरालले खुम्चिएको आर्थिक अवस्थालाई समेट्ने गरी बजेटले उत्पादन वृद्धि, उत्पादकत्व बढाउने र रोजगारी बढाउने विषय सकारात्मक भएको बताए।

कोशी प्रदेश पर्यटन क्षेत्रका लागि सम्भाव्यता बोकेको हुँदा बजेटले केही धार्मिक र पर्यटकीय विषयले स्थान पाएको उनले बताए। उनले भने, ‘किराँत साँस्कृतिक सर्किटको निर्माण, खोटाङको हलेसी तुवाचुङ क्षेत्र, खुवालुङ, मुन्धुम ट्रेललगायतका लागि बजेट देखिएको छ। मुलुकले राजश्व कम संकलन गरिरहँदा पर्यटन क्षेत्रलाई बढाउन र विस्तार गर्न सक्दा आगामी दिनमा राजश्व संकलनमा सहजता र वृद्धि हुनेछ।’

त्यसैगरि, खेल क्षेत्रतर्फ मोरङको विराटनगरमा रहेको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट स्टेडियमका लागि बजेट पर्नु स्वागतयोग्य भएको उद्योग संगठन मोरङका सदस्य तथा पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी पारस लुनियाले बताए।

मुलुकको क्रिकेट अर्को चरणमा पुगिसकेको बताएका लुनियाले अब भएका भौतिक संरचना व्यवस्थापन र मर्मत गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘अहिले अब नयाँ संरचना निर्माण गर्न सक्दा राम्रो हुनेछ। तर ठूलो लगानी भन्दा पनि बजेट सानो आकारको हुँदा सोहीअनुरुप खेलाडी उत्पादनतर्फ ध्यान दिनुपर्ने अवस्था छ। अब सरकारले मैदान व्यवस्था गर्दै खेलाडी उत्पादन गर्दै नतिजा हासिल गर्ने समय आइसकेको छ।’

जेठ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्