एडीबीको सहयोगमा धनगढीमा थप ३२ किलोमिटर सडक कालोपत्रे हुने

गोपाल हमाल। फाइल फोटो।

धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको धनगढी उपमहानगरपालिकामा एसियाली विकास बैंक (एडीबी)को सहयोगमा थप ३२ किलोमिटर सडक निर्माण हुने भएको छ।

एडीबीले ४२ किलोमिटर सडक निर्माण गर्ने भने पनि धनगढी उपमहानगरपालिकाले भौतिक संरचनालगायतका अवरोध खाली गर्न नसकेपछि १० किलोमिटर सडक मात्र निर्माण गरी थप फिर्ता हुने निर्णय गरेको थियो।

उपमहानगरमा नयाँ नेतृत्व आएसँगै सडक क्षेत्राधिकारभित्र पर्ने संरचनाको अवरोध हटाउने प्रतिबद्धता जनाएपछि थप ३२ किलोमिटर सडक निर्माण गर्न एसियाली विकास बैंक सहमत भएको हो।

सुदूरपश्चिम प्रदेस सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा र नगरप्रमुख गोपाल हमालको पहलमा एडीबी थप लगानी गर्न सहमत भएको हो। अबको दुई वर्षमा दोस्रो प्याकेजमा धनगढीका विभिन्न १६ वटा सडक निर्माण हुने धनगढी उपमहानगरपालिकाले जनाएको छ। यी सडकको लम्बाइ ३२ किलोमिटर रहेको छ।

धनगढीका सडक निर्माण, डुबान समस्या हल र ढल निकासको समस्या समाधन गर्ने एसियाली विकास बैंक र विश्व बैंकको लगानी भित्रिने भएको नगरप्रमुख गोपाल हमालले बताए। धनगढीको विकास रोकिने भयो भनेर एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर र अन्य अधिकारीसँग छलफल गरेपछि एडीबी थप दुई वर्षमा ३२ किलोमिटर सडक निर्माण गर्न सहमत भएको नगरप्रमुख हमालले बताए।

क्षेत्रीय सहरी विकासमार्फत सडक निर्माण गर्न सन् २०२० जुलाई १२ तारिखमा एडीबीसँग सम्झौता भएको थियो। एडीबीको ऋण सहयोगमा धनगढीको ४२ किलोमिटर सडकमध्ये जम्मा १० दशमलव ५ किलोमिटरमा मात्र कालोपत्र गर्ने सम्झौता भएको थियो। बाँकी ३२ किलोमिटर सडक दोस्रो चरणमा कालोपत्रको ठेक्का हुने भनिएको थियो।

तर, सडक क्षेत्राधिकार समयमै खाली गर्न नसकेपछि एडीबीले दोस्रो चरणको सडक निर्माणका लागि बजेट नदिने भन्दै फिर्ता हुने निर्णय गरेको थियो।

बाँकी सडकमा लगानी गर्न सहमत भएपछि एडीबीले धनगढीमा साढे चार अर्ब बढी बजेट खर्च गर्नेछ। एडीबीको लगानीमा धनगढीको पुरानो भन्सार सडक, रुवस होटल हुँदै दक्षिण जाने सडक, बोराडाँडी–यातायात कार्यालय सडक, धनगढीगाउँ–जुगेडा सडकलगायतका १६ वटा सडक दुई वर्षमा कालोपत्र हुनेछन्।

हालै काठमाडौँमा एडीबीसँग भएको छलफल धनगढीको विकासका लागि महत्वपूर्ण भएको नगरप्रमुख हमालले बताएका छन्। ‘एडीबीसँग भएको बैठकमा धनगढीको विस्तृत विकासका बारेमा छलफल भएको छ,’ उनले भने, ‘एडीबीसँग कैलाली नालामा करिडोर निर्माण गर्ने र डुबान समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको छ।’

धनगढी उपमहानगरपालिकाले एसियाली विकास बैंक र विश्व बैंकको लगानीमा धनगढीको सडक निर्माण गर्ने, ताल तलैयाको संरक्षण र व्यवस्थापन गर्ने, डुबान समस्या हल गर्ने, ढल व्यवस्थापन र खोलानालामा करिडोर निर्माण गर्न विस्तृत आयोजाना प्रतिवेदन (डीपीआर) को काम अन्तिम चरणमा पुगेको जनाएको छ।

खासगरी एडीबीलाई सहमत गराउनमा नेपाली कांग्रेस नेत्री डाक्टर आरजु देउवा राणाको विशेष भूमिका रहेको नगर प्रमुख हमालले बताए।

जेठ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्