लिगको २२ औं चरण: फेरिएको पुलिसको अङ्क तालिकामा छलाङ

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा २२ औं चरण सकिंदा नेपाल पुलिस क्लबले सुधारिएको प्रदर्शन जारी राखेको छ। सुरुवातमा रेलिगेशन दबाब टार्न संघर्षरत देखिएको पुलिस पछिल्लो समय फेरिएको छ। सोमबारको जितपछि पुलिस लिग अङ्क तालिकामा नवौं स्थानबाट चौंथो स्थानमा छलाङ मार्न सफल भयो।

दशरथ रङ्गशालामा भएको खेलमा पुलिसले फ्रेन्डस क्लबलाई २-१ ले पराजित गर्दै पछिल्ला पाँच मध्ये ४ खेलमा जित निकाल्न सफल भयो। पुलिसको जितमा अन्जन राईले दुई गोल गर्दा फ्रेन्ड्सका विकास थापाले एक गोल फर्काए। खेलको तेस्रो मिनेटमा अन्जनले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए।

तर, २० औं मिनेटमा विकासले गोल गर्दै फ्रेन्ड्सलाई १-१ गोलको बराबरीमा ल्याउँदा खेल रोमाञ्चक अवस्थामा पुगेको थियो। त्यसपछि खेलको ३५ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २-१ को जित दिलाए। जारी लिगमा पुलिसको यो नवौं जित हो। पुलिसले २२ खेलमा ३१ अंक जोडेको छ। फ्रेन्ड्सले २२ खेलमा २४ अंक जोड्दै रेलिगेशन क्षेत्रमा कायम छ।

सोमबारनै भएको खेलमा पुछारमा रहेको एफसी खुमलटारले हिमालयन शेर्पालाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको दिनको पहिलो खेलमा खुमलटारले शेर्पालाई २-१ ले पराजित गरेको हो। खुमलटारको जितमा मेसुके ओलुमोउ र स्टेफन बिनोङले एक-एक गोल गरे। हिमालयनका लागि मानुएल एग्योमाङले एक गोल फर्काएका थिए। हिमालयनले २२ खेलमा २९ अंक जोडेर नवौं स्थानमा रहेको छ।

२२ चरणको समाप्ति पछि यस्तो छ लिग तालिका

जेठ १५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्