बजरंग पुनिया र साक्षी मलिक लगायतका पहलवानहरूले पदक गंगामा बगाउने

भारतको राजधानी दिल्लीमा कुस्ती महासंघका अध्यक्षविरुद्ध एक महिनाभन्दा बढी समयदेखि हडतालमा रहेका पहलवानहरूले आफ्नो पदक गंगा नदीमा फाल्ने निर्णय गरेका छन्।

पहलवानहरूले विज्ञप्ति जारी गर्दै पदक गंगामा फाल्ने निर्णय गरेका हुन्।

उनीहरूले भनेका छन्, ‘हामी यी पदकहरू गंगामा फ्याँक्नेछौँ, किनभने उहाँ माता गंगा हुनुहुन्छ। हामी गंगालाई जति पवित्र मान्छौं, त्यति नै पवित्र काम गरेर हामीले यी पदकहरू कमाएका थियौँ।’

कुस्ती महासंघका अध्यक्ष बृजभूषण शरण सिंहलाई पक्राउ गर्न माग गर्दै भारतका शीर्ष पहलवानहरूले जन्तर मन्तरमा प्रदर्शन गर्दै आइरहेका थिए। तर, मे २८ मा दिल्ली प्रहरीले जन्तर मन्तरबाट उनीहरूको अनशन जबरजस्ती हटाएको थियाे। पहलवानहरूले बृजभूषण सिंहमाथि यौन शोषणको आरोप लगाएका छन्।

ओलम्पिक पदक विजेता बजरंग पुनिया, साक्षी मलिक पनि प्रदर्शन गर्ने कुस्ती खेलाडीहरू हुन्। यीबाहेक ओलम्पिकमा भारतको प्रतिनिधित्व गर्ने विनेश फोगाट पनि प्रदर्शनका चर्चित अनुहार हुन्।

देशको नयाँ संसद भवनको उद्घाटन मे २८ मा भएको थियो। बजरंग पुनिया, साक्षी मलिक र विनेश फोगाट त्याे दिन नयाँ संसदमा मार्च गर्न चाहन्थे।

तर प्रहरीले उनीहरूलाई र्‍याली गर्नबाट रोकेर हिरासतमा लिइएकाे थियो। यसबाहेक जन्तर मन्तरमा रहेका उनीहरूको पाल जबरजस्ती हटाइएकाे थियाे।

जेठ १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्