डा. बस्ताकोटी सोधिरहन्छन्– के हो सार्थक जीवन ?

आजभन्दा साढे २५ सय वर्षअघि बुद्धले भनेका थिए– मानव–जीवन दुःख र पुनर्जन्मको चक्र हो । तर, यदि कसैले ज्ञान (निर्वाणा) को स्थिति प्राप्त गर्छ भने उसले सदाका लागि यो चक्रबाट मुक्ति पाउन सम्भव छ ।

त्यस बेलादेखि अहिलेसम्म बुद्धका अनुयायीहरुले जन्म, जीवन र जगतको रहस्यलाई बोध गर्न साधनामय जीवनको अभ्यास गर्दै आएका छन् । बुद्धले प्रतिपादन गरेका चार आर्य सत्यले पक्कै पृथक जीवनदृष्टि प्रदान गर्छ । पहिलो आर्य सत्य, जीवनमा दुःख छ, दोस्रो, दुःखको कारण छ, तेस्रो, दुःखबाट मुक्ति पाउन सकिन्छ र चौथो, मुक्ति पाउने उपाय पनि छ । दुःखबाट मुक्ति पाउने उपायका रुपमा बुद्धका अष्टांग मार्ग सम्यक ज्ञान, सम्यक विचार, सम्यक वाणी, सम्यक सम्यक कर्म, सम्यक जीविकोपार्जन, सम्यक प्रयास, सम्यक जागरण र सम्यक एकाग्रता हुन् ।

हिन्दु शास्त्रअनुसार धर्म, काम, अर्थ र मोक्ष प्राप्त गर्नु जीवनको लक्ष्य हो, जसलाई पुरुषार्थ भनिन्छ । नैतिकवान र सदाचारी भएर असल जीवन जिउनुलाई अर्थपूर्ण मानिएको छ ।

क्रिश्चियन धर्मावलम्बीहरु जीवनलाई एक असल कार्यका लागि सिर्जना गरिएको अमूल्य वरदान मान्छन्, जसको बारेमा परमेश्वर (जिसस) लाई मात्र पूर्ण रुपमा थाहा छ भन्ने उनीहरुको विश्वास छ ।
इस्लाम धर्मका अनुसार पैगम्बरको परम्परा पछ्याउँदै कुरानले निर्दिष्ट गरेको दिशानिर्देश पालना गरेर सृष्टिकर्ता (अल्लाह) को उपासना गर्नु जीवनको लक्ष्य हो ।

भौतिकवादी (मार्क्सवादी) हरुले मानिसलाई प्राकृतिक रुपले उत्पादनशील र सामाजिक प्राणीका रुपमा स्वीकार गर्छन् । मानिसले प्राकृतिक शक्तिलाई स्वतन्त्र प्रयोगद्वारा आफ्नो जीवनमा पूर्णता र अर्थ खोज्छन् भन्ने उनीहरुको दार्शनिक मान्यता छ ।

जीवनका बारेमा सबैका आ–आफ्ना बुझाइ र दृष्टिकोण छन्, जुन सापेक्ष छन् । शतप्रतिशत मानिसलाई स्वीकार्य हुने, सर्वसम्मत मानिने जीवनको त्यस्तो परिभाषा भेट्न पनि त मुस्किल छ ।

मैले यहाँ विषयवस्तु उठान गर्नुभन्दा पहिले नै माथि निक्कै लामो भूमिका बाँधिसकेँ । खासमा मलाई डा. ऋषि बस्ताकोटीद्वारा रचित पछिल्लो सुमधुर र कर्णप्रिय गीत ‘एउटा प्रश्न’ सुनेपछि केही लेख्ने हुटहुटी जागेको हो । कताबाट सुरु गर्ने भन्दाभन्दै यही सन्दर्भमा केही व्यक्तिगत अनुभवजन्य र दार्शनिक पक्ष खोतल्न लागेको छु ।

दुई महिनाअघि ‘दि टच क्रियसन’ युट्युब च्यानलमार्फत् ‘एउटा प्रश्न’ भिज्युअल गीत सार्वजनिक गरियो । स्वरुपराज आचार्यको मिठासयुक्त स्वर, डा. बस्ताकोटीको दिव्य शब्दहरु अनि राजेश थापाको विशिष्ट संगीतको त्रिवेणीले साँच्चिकै यो गीत सुन्दा म पनि जीवनका फरक पाटाबारे घोत्लिन बाध्य भएँ ।

गीत हेर्नुहोस्:

मूलधारको पत्रकारिताका अढाइ दशक यात्रा अनि पछिल्लो समय चाहिँ एक अध्यापक, विज्ञान पत्रकार र माइन्डफुलनेसको अभ्यासकर्ता, जसले पाँच दशक वसन्त पार गर्न लाग्दा पनि अझै जीवनको तत्वबोध गर्न सकेको छैन । भलै ध्यानको अभ्यासबाट प्राप्त थोरबहुत अनुभूतिले व्यक्तिगत जीवनमा धेरै रुपान्तरण आएको छ । अझै पनि सिक्ने अनि साधना गर्ने क्रम जारी छ ।

अढाइ दशकअघि रेयुकाइले आयोजना गरेको राष्ट्रव्यापी मुक्तक प्रतियोगितामा भाग लिन लमजुङ जाँदा ऋषिजीसँग प्रत्यक्ष भेट भएको हो । माओवादी द्वन्द्वकाल थियो । हामी बसेको बेसीसहरको होटल अगाडि राति प्रहरी र माओवादीबीच भिडन्त भएको थियो । मैले सम्झिएसम्म केही व्यक्तिको हताहती पनि भएको थियो ।

संयोग नै भनुँ उक्त प्रतियोगितामा आरआर चौलागाई प्रथम तथा संयोगले ऋषिजी र म संयुक्त रुपमा दोस्रो भएका थियौं । अन्य विजेताहरुको चाहिँ मैले नाम बिर्सिएँ । त्यसयता मैले ऋषिजीमा जीवनका दुःखसुख बाँड्ने एउटा असल मित्र मात्र होइन, परिवारको सदस्य र मेन्टरको प्रतिरुप पाएको छु । त्यसलाई अहोभाग्य ठान्छु म ।

त्यस बेला ऋषिजीको स्वभाव शान्त र सौम्य भए पनि विद्रोही चेत प्रखर थियो । उनको ‘ज्वालाका रापहरु’ गजलकृति त्यही बेला पढ्ने मौका पाएको थिएँ । कुशासन, भ्रष्टाचार, बेथिति, विकृति र विसंगतिको दस्तावेज भन्न रुचाउँछु उक्त कृतिलाई । आफ्ना गजलहरुमार्फत् उनले शान्त, सुन्दर, समतामूलक र न्यायपूर्ण समाजको वकालत गरेका थिए उनले ।

वनविज्ञानमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक सिध्याएपछि जर्मनीबाट मास्टर्स र क्यानाडाको क्यालगरी युनिभर्सिटी पिएचडी पूरा गरेपछि उनी अहिले सपरिवार अमेरिका बस्छन् । जलवायु विज्ञका रुपमा अमेरिकी सरकारी निकायमा जागिरे भएर पनि सिर्जनात्मक लेखनलाई जीवन्त राखेका छन् उनले । गत वर्ष उनको ‘विसंगत बस्ती’ मुक्तक संग्रह पनि प्रकाशित भएको छ । उनका डेढ दर्जनभन्दा बढी गीत, गजल रेकर्ड भइसकेका छन् ।

जीवनका बारेमा सबैका आ–आफ्ना बुझाइ र दृष्टिकोण छन्, जुन सापेक्ष छन् । शतप्रतिशत मानिसलाई स्वीकार्य हुने, सर्वसम्मत मानिने जीवनको त्यस्तो परिभाषा भेट्न पनि त मुस्किल छ ।

पछिल्लो ‘एउटा प्रश्न’ गीत सिर्जनासम्म आइपुग्दा ऋषिजीको चिन्तनको आयाम व्यापक बन्दै गएको आभाष हुन्छ । विज्ञानका विद्यार्थी उनी ‘मेटाफिजिकल’ पक्षलाई समेत सिर्जनामा जोड्न चाहन्छन्, जीवनको सार्थकता खोज्छन्, आफैंभित्र कैयौं प्रश्न गर्छन् । मानवजुनी लिएर यस पृथ्वीमा जन्म लिएपछि दिन, महिना र वर्ष बिताएर बाँच्नु मात्र जीवन हो त ? यस्तै अनुत्तरित प्रश्नहरुबीच गीतले परिभ्रमण गरेको छ :

एउटा प्रश्न आइरहन्छ के हो सार्थक जीवन भन्नु
पक्कै पनि होइन होला, दिन, महिना र वर्ष गन्नु

तीन वर्षअघि जन्मदिनका दिन ऋषिले यो गीत लेखेका हुन् । पछिल्ला वर्षहरुमा उनले जन्मदिनलाई आफूले अहिलेसम्म गरेका कामहरुलाई ‘रिफ्लेक्सन’ गर्ने गरेका छन् । ‘परिवारसँग बसेर जन्मदिन मनाउनुको खुसी त छँदै छ, त्यस दिनमा आफूले विगतमा गरिएका काम र भविष्यका योजनाबारे गहिरिएर समीक्षा गर्ने अवसर पनि जुट्दो रहेछ । जन्मदिनका दिन यसो आत्मचिन्तनमा घोत्लिँदा प्रस्फुटित शब्दहरुले गीतको रुप लिएजस्तो लाग्छ,’ उनी सम्झिन्छन् । यसो अन्तर्दृष्टिमा केही क्षण अडिएका बेला यो गीत फुरेको उनको भनाइ छ ।

गोरखाको आँपपिपल गाउँमा जन्मिएका ऋषिले जीवनमा धेरै संघर्ष गरे, अप्ठ्यारा चुनौतीहरु सामना गरे । न्यून मध्यम वर्गीय परिवारमा जन्मिएका सानैदेखि पढाइमा मेधावी उनका लागि बेथिति, अभाव र अन्याय साहित्य सिर्जनाको प्रेरक तत्व बन्न पुग्यो । बाआमाले दुःख गरेर गाउँमा स्कुल तहसम्म पढाए । त्यसपछि पोखरामा वनविज्ञानको पढाइ अनि जागिर र उच्चशिक्षाका लागि विदेश, क्यानाडाको पिएचडी हुँदै अहिले अमेरिकाको स्थायी बसोबास छ । गाउँमा कडा संघर्ष गरेको व्यक्ति अमेरिकामा जलवायुविज्ञको रुपमा सरकारी सेवामा कार्यरत रहनु आमरुपमा ठूलो उपलब्धि मान्नुपर्छ । तर, सफलताको एउटा पक्षलाई मात्र जीवनको मानक मान्न नहुने उनको मान्यता छ ।

धेरैलाई लाग्ने गर्छ– जीवनमा धेरै दौडधूप गरियो, पढेर नामको अगाडि डाक्टर झुन्ड्याउन सफल भइयो, देशविदेश पनि देखियो । तर, आखिर जीवनलाई हेर्ने सम्यक दृष्टिकोण के हो त ? अहँ यसको सपाट उत्तर अहिलेसम्म फेला परेको छैन । यो सन्दर्भलाई गीतले यसरी उठान गरेको छ :

उमेरसँगै केस फुल्दा रमितामै रमाइ फुल्दा
ठूलो भएजस्तो लाग्छ देशदेशावर सबै डुल्दा
तर, शान्ति भेटिँदैन के हो सार्थक जीवन भन्नु
पक्कै पनि होइन होला दिन, महिना र वर्ष गन्नु

ऋषिले एकै बसाइमा यो गीत लेखेका हुन् । लेखिसकेपछि उनले सुरुमा आफूले आफैंलाई नै यो गीत सुनाए । त्यसपछि श्रीमती कल्पनालाई गीत सुनाउँदा राम्रो ‘फिडब्याक’ पाएको उनी बताउँछन् । गीत सुनेपछि डा. अच्युत शर्माले स्याबासी दिए । यो गीतको सिर्जना कोभिड–१९ महामारीको बेला भएको हो । कोभिड महामारीले धेरै मानिसहरुमा जीवन र जगतलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गराइदियो ।

ऋषिले पनि महामारीलाई अत्यन्तै नजिकबाट भोग्ने र अनुभूत गर्ने मौका पाए । महामारीले कैयौं मानिसहरु ढले, कैयौंका चोला उठे, पैसा भएर पनि मानिसलाई बचाउन सकिएन, यस्तै स्थितिले उनको मनमा बेचैन पनि थप्यो । त्यस्तो स्थितिमा पहिले सामाजिक न्याय र परिवर्तनका लागि अरुलाई प्रश्न सोध्ने उनले अन्तर्मुखी भएर आफैंलाई सोध्न थाले । ‘भित्र परिवर्तन नभइकन बाहिर परिवर्तनले मात्र समाज रुपान्तरण हुँदो रहेनछ, आफू नसुध्रिकन अरुलाई सुधारेर मात्र समुन्नत समाज नबन्ने रहेछ,’ उनी सुनाउँछन् ।

उनले लेखेको यो गीत साल्मली भन्ने पत्रिकामा दुई वर्षअघि प्रकाशित भएको थियो । केही महिनाअघि संगीतकार राजेश थापालाई ऋषिले गीत पठाइदिए । धेरैजसो अर्थपूर्ण र सुगम गीतहरुमा संगीत कम्पोज गर्ने राजेशले गीतका शब्दहरु मन पराए । त्यसपछि स्वरुपराजलाई गीत देखाए र उनी पनि गाउन राजी भए । त्यसपछि सुन्दर गीत रेकर्डिङ भएर बाहिर आयो ।

यो गीतलाई स्रोताहरुले मन पराइदिएकोमा उनी अनुगृहित छन् । संगीतकार राजेश, गायक स्वरुपराजलगायत सबै टिमका सदस्यहरुलाई धन्यवाद दिन चाहन्छन् उनी । ‘भाइरल होस्, युट्युबमा यति दर्शक पुगुन् भन्ने सोचेर मैले गीत लेखेको होइन, जति स्रोताले सुन्नुहुन्छ, यसले उहाँहरुको मन छोयो र उहाँहरुले आफूलाई गीतमा पाउनुभयो भने आफ्नो प्रयास सार्थक भएको ठान्छु,’ उनी भन्छन् ।

स्रोताहरुबाट पाएको प्रतिक्रियाबाट उनी उत्साही छन् । वरिष्ठ वैज्ञानिक डा. प्रेम न्यौपानेले गीत सुनेर दिएको प्रतिक्रिया उनी स्मरण गर्छन्–जति संसार घुमे पनि आफूभित्र शान्ति भएन भने केही अर्थ हुने रहेनछ, यो गीत त मेरै अनुभवजस्तै लाग्यो ।

गीत सुनेर आमाले दिएको प्रतिक्रियाले ऋषि केही भावुक पनि भए । ‘मेरी आमा, प्रौढकक्षा पढेको साक्षर मात्र हुनुहुन्छ, उहाँले पूरै गीत सुनेपछि भन्नुभयो–अरु जीवहरुले जस्तै गरी बाँच्नु मात्र जीवन होइन, मानव जीवन पक्कै फरक हुनुपर्छ भन्ने सन्देश कस्तो राम्रो लाग्यो,‘ उनी सम्झिन्छन् । ऋषिजीकी आमालाई तलका गीतका हरफले निक्कै छोएको रहेछ । यसमा शाश्वत दर्शन पनि समेटिएको छ– आफू स्वार्थी बनेर संसारलाई भड्खालोमा जाक्नु पक्कै सार्थक जीवन होइन ।

चरा पनि बाँचेकै छ, कीराले नि खाएकै छ
माटो, पानी भेटेपछि बिउले जीवन पाएकै छ
हेर्दा प्रश्न आइरहन्छ के हो सार्थक जीवन भन्नु
पक्कै पनि होइन होला आफ्नै लागि मात्र बन्नु

जेठ १६, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्