२०८४ मा चुनाव जित्ने होः रेशम चाैधरी

धनगढी – राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएका रेशम चौधरीले २०८४ को निर्वाचनमा आफू चुनाव लड्ने बताएका छन्।

टीकापुर घटनामा दोषी ठहर भई कैलाली कारागारमा रहेका कैदीलाई भेटपछि बुधबार पत्रकारसँग कुरा गर्दै रेशम चौधरीले २०८४ मा हुने आम निर्वाचनमा उम्मेदवार बन्ने बताएका हुन्।

जन्मकैदको सजायबाट आममाफी पाए पनि जनप्रतिनिधि बन्न कानुनी बन्देज छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने ‘कसले भन्यो, २०८४ को निर्वाचनमा लड्ने हो । जित्न्या हो ।’

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षकको पत्नीले चौधरीको आममाफीविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट दिएकी थिइन् । सो विषयमा प्रतिक्रिया दिँदै रेशमले अदालतले गर्ने जुुनसुकै फैसलाको सम्मान गर्ने प्रतिक्रिया दिए ।

‘यो देशको नागरिक भएको नाताले संविधान र कानुनको पूर्ण सम्मान गर्छु। हिजो पनि कानुनको पूर्ण सम्मान गरेर काराबास जीवन व्यतित गरेको हुँ’, चौधरीले भने, ‘लोकतन्त्रमा संविधानले सबैलाई स्वतन्त्रताको अधिकार दिएको छ। चित्त दुःखेको विषयमा जाने, गुनासो गर्ने हक सबैलाई छ। त्यहीअनुसार उहाँहरु पनि जानुभएको होला। न्यायालयले गर्ने जुनसुकै फैसलाको पनि सम्मान गर्छु।’

चौधरीले टीकापुर घटनामा ज्यान गुमाएका नाबालक र प्रहरीका परिवारले न्याय पाउनुपर्ने र त्यसका लागि आफूले पनि सहयोग गर्ने बताए। टीकापुर घटनाको वास्तविकता अर्कै भए पनि कथा अर्कै बनाइएको चौधरीले टिप्पणी छ। यसअघि रेशमले धनगढीको गुरही चोकमा नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ता संगै थारु अगुवासँग भेटघाट गरेका थिए।

२०७२ साल भदौ ७ कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो। उक्त घटनामा दोषी ठहर भई जन्मकैदको भोगिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।

आममाफी पाएलगत्तै रेशम चौधरी नेपालगंज हुँदै गृहनगर टिकापुर पुगेका थिए । उनले टिकापुर लगायत कैलाली जिल्लाका विभिन्न ठाउँमा थारु समुदायलाई भेटघाट गरिरहेका छन्।

जेठ १७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्