विद्यार्थीले ल्याए विद्यालयकाे धारामा खानेपानी

विद्यालयको धारामा खानेपानी खसालेपछि रमाउँदै बागेश्वरी आविका विद्यार्थी । तस्बिरः राजन रावत, हुम्ला

हुम्ला – खार्पुनाथ गाउँपालिका– ५ स्थित ताक्ला गाउँको बागेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थी मिलेर पाइपलाइन मर्मत गरी खानेपानी ल्याएका छन्।

विद्यालयको धारामा चार महिनादेखि पानी नआउँदा पिउने पानीको समस्या झेल्दै आएपछि बाध्य भएर विद्यार्थी आफैँ मिलीे पाइपलाइन मर्मत गरेर धारामा पानी खसालेका हुन्।

तीन दिन लगाएर खानेपानीको पाइपलाइन मर्मत गरी खसालिएको सोही विद्यालयका छात्र सुुरेश बुमीले बताए।

उनले लामो समय धारामा पानी नआएपछि पाइपलाइनमा समस्या भएको हुन सक्ने अनुमान गर्दै पूरै लाइन खनेर पानी बन्द भएको पत्ता लगाई पाइपमा पानी आउने बनाएको बताए।

गाउँ र विद्यालयको एउटै खानेपानी लाइन भएकाले गाउँका स्थानीयले पटक–पटक पाइपलाइन काट्ने गरेपछि विद्यार्थीलाई पानीको समस्या भएको हो।

विद्यार्थीले करिब तीन सय मिटर पाइपलाइन मर्मत गर्नुपरेको थियो। प्रधानाध्यापक गणेश शाहीले विद्यार्थी र शिक्षकको प्रयासबाट विद्यालयको धारामा पानी खसाल्न सफल भएको जानकारी दिँदै विशेष गरी विद्यार्थीलाई धन्यवाद दिए।

उनले कतैबाट समाधानको उपाय नआएपछि विद्यार्थी मिलेर पाइपलाइन मर्मत गर्ने निधोमा पुुग्नुुपरेको र त्यसका लागि शिक्षकले समेत सहयोग गरेको बताए।

खानेपानी अभावले विद्यार्थी र शिक्षकलाई शौच गर्न समते समस्या हुने गरेको थियो। विद्यालयको धारामा पानी आउन छाडेपछि पढ्न छाडेर आधा घण्टाको समय लगाई खोलाको धमिलो पानी ल्याउन जानुपर्ने बाध्यता थियो।

त्यस बेलासम्म पढाइ छुट्ने गरेको विद्यार्थीले गुनासो गरेका छन्। अहिले धारामा पानी खसेपछि यी सबै समस्या समाधान भएका छन्। उक्त खोलाको धमिलो पानी पिउनुुपर्ने भएकाले स्वास्थ्यमा समेत समस्या हुने गरेको विद्यार्थीको गुनासो छ।

फागुन पहिलो सातादेखि खानेपानी अभाव भएपछि विद्यार्थी शुद्ध खानेपानीबाट वञ्चित हुँदै आएका थिए। छात्रा अस्मिता सुनारले पानी नआएको चार महिना भइसक्दासम्म त्यसतर्फ कसैको ध्यान नगएको भन्दै दुःख व्यक्त गरिन्। बालविकासदेखि कक्षा ६ सम्म अध्ययन हुने उक्त विद्यालयमा १०६ जना विद्यार्थी अध्ययनरत छन्।

जेठ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्