सुडानमा १२ लाखभन्दा बढी मानिस विस्थापितः संयुक्त राष्ट्रसंघ

सुडान द्वन्द्व सुरु भएको छ हप्तामा १२ लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायताकर्मीले बुधबार बताएका छन्।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए)ले अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)ले स्थलगत टोलीबाट प्राप्त प्रारम्भिक प्रतिवेदनका आधारमा आफ्नो तथ्याङ्क तयार पारेको जनाएको छ।

ओसीएचएले भनेको छ, ‘यसबीच, हामी र हाम्रा साझेदारहरूले कुनै पनि समय सबै स्थानमा सम्भावित सहयोग पुर्‍याइरहेका छौँ।’ विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले खार्तुम क्षेत्रमा सहयोग वितरण सुरु गरेको छ। डब्ल्यूएफपीले ओमदुरमानमा फसेका करिब १५ हजार मानिसहरूलाई आपतकालीन खाना उपलब्ध गराएको जनाएको छ।

सुडानमा डब्लुएफपीले विगत चार हप्तामा सात लाख ८२ हजारभन्दा बढी मानिसलाई खाद्य तथा पोषण सहायता प्रदान गरेको मानवीय सहायता कार्यालयले जनाएको छ। डब्ल्यूएफपीले सुडानमा आधारभूत सम्पर्क चुनौतीपूर्ण रहेका स्थानमा संयुक्त राष्ट्रसङ्घका सबै निकायहरू र व्यापक मानवीय समुदायलाई आपतकालीन दूरसञ्चार सेवाहरू पनि प्रदान गर्दछ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले अल–जजिराको वाद मेदानीस्थित प्रसूति गृहलाई जीवनरक्षक औषधि र प्रजनन स्वास्थ्य सामग्री उपलब्ध गराउने गरेको ओसिएचएले जनाएको छ। रासस/एएफपी

जेठ १८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्