वीरगञ्जका दुई पूर्व वडाध्यक्षसहित आठ जनाविरुद्ध सर्वोच्चमा मुद्दा

फाइल तस्बिर।

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाका दुई जना पूर्व वडाध्यक्षसहित आठ जनाविरुद्ध सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। कागजात सच्याई गलत लिखत तयार गरेको आरोपमा दुई जना पूर्व वडाध्यक्षसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा मुद्दा दायर गराएको हो।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २ का पूर्व वडाध्यक्ष शेख अब्बास र वडा नम्बर १५ का पूर्व वडाध्यक्ष गजेन्द्रप्रसाद कुर्मी, पर्साका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत पौडेल, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन नायव सुब्बा चन्द्रदेव ठाकुर र तत्कालीन प्रशासकीय अधिकृत सदनकुमार कर्ण, वीरगञ्ज महानगरपालिका–२ का अरिफ हुसेन, सबरुन खातुन, वडा नम्बर १५ का ममता कुमारी गुप्ताविरुद्ध सर्वोच्चमा अख्तियारले मुदा दायर गरेको हो।

कागजात सच्याइ गलत लिखत तयार गरी नेपाली नागरिकता दिएको आरोपमा उनीहरु आठै जनाविरुद्ध विशेष अदालतमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गराएको थियो। गत वर्ष चैत १७ गते आठै जनालाई विशेष अदालतले सफाइ दिएको थियो। विशेष अदालतको फैसलामाथि चित नबुझेको भन्दै बुधबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

जेठ १९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्