ओडिशाको बालासोरमा भएको रेल दुर्घटनामा परी २३३ जनाको मृत्यु

भारत- ओडिशाको बालासोर जिल्ला नजिकै शुक्रबार साँझ भएको रेल दुर्घटनामा परी २३३ जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी घाइते भएका छन्।

यो दुर्घटना बालासोरको बहानागा बजार स्टेसन नजिक भएको हो। यो घटना साँझ करिब सात बजेको हो ।

पूर्वी तटीय रेलवेका अधिकारी अमिताभ शर्माका अनुसार पहिला कोरोमण्डल एक्सप्रेस पटरीबाट खसेको थियो। यो रेल अर्को तर्फबाट आउँदै गरेको यशवंतपुर हावडा एक्सप्रेससँग ठोक्किएको थियो। त्यसपछि कोरोमण्डल एक्सप्रेसका केही डिब्बाहरू पटरीबाट खसेका थिए। यसैक्रममा कोरोमण्डल एक्सप्रेस स्टेसनमा भएकाे मालगाडीसँग ठोक्किएको थियो।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफ्नो राज्यबाट एउटा टोली घटनास्थलमा पठाइरहेकी छिन् ताकि रेलवेसँगको सहकार्यमा राहत र उद्धार कार्य गर्न सकियोस्।

रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन्। पत्रकारसँग कुरा गर्दै उनले भनेका छन्, ‘रातिदेखि उद्धार कार्य जारी छ, शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु । जहाँ राम्रो स्वास्थ्य सुविधा छ, त्यहाँ उपलब्ध गराइनेछ। छानबिनका लागि उच्चस्तरीय समिति गठन गरिएको छ।’

उनले गएराति ट्वीट गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका थिए। उनले मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्। यसका साथै गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरिएको छ।

ओडिशाका मुख्य सचिव प्रदीप जेनाले रेल दुर्घटनामा घाइते भएकाहरूलाई गोपालपुरको अस्पतालमा भर्ना गरिएको बताएका छन्। यसबाहेक केही घाइतेहरूलाई बालासोरको मेडिकल कलेजमा भर्ना गरिएको छ।

जेठ २०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्