नेपालगञ्ज नाकामा राजश्व असुली लक्ष्यको आधामात्रै

जमुनाहा नाका। फाइल फोटो।

नेपालगञ्ज – आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा नेपालगञ्ज नाकामा लक्ष्यको आधा मात्रै राजश्व संकलन भएको छ।

नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माका अनुसार चालु आर्थिक वर्षमा २९ अर्ब ३२ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा वैशाखसम्ममा १५ अर्बमात्रै राजश्व संकलन भएको छ।

पश्चिमको व्यस्तमध्येको यो नाकामा वैशाखसम्ममा ५५ अर्ब मूल्य बराबरको पैठारी भएको छ भने दुई अर्ब मूल्य बराबरको निकासी भएको छ।

नेपालगञ्ज नाकाबाट डिजेल, चामल, एलपी ग्यास, स्पोन्ज आइरन, मकै, चिनी, पेट्रोल, स्टील वायर रड, भटमास, दाल, तोरी, आलुलगायत बस्तु धेरै भित्रिन्छ।

यो नाकाबाट जडीबुटी, खोटो रोजिन, खयर कत्था, प्लाइउड, तारपिन तेल, रिठ्ठा, अदुवा, सुठो, दालचिनी निकासी हुन्छ। आर्थिक मन्दीको प्रभाव राजश्व असुली प्रत्यक्ष देखिएको छ। यो नाकामा गतवर्ष पनि लक्ष्यभन्दा कम राजश्व संकलन भएको थियो।

जेठ २०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्